पोखरा। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानून सबैका लागि समान भएकाले भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरूलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् ।पुष्पलालको ४६ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आज काठमाडौँमा आयोजना गरेको ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा उहाँले तत्थ्य र प्रमाणले भेटेसम्म भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरू जो सुकै व्यक्ति भए पनि कानूनी कारबाही गरिने बताए ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘सामजवादी यात्राको चुनौतीःभ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल / रासस
उनले भने, ‘निर्दोष फस्ने काम नहोस्, दोषी र अपराधीलाई छाड्ने काम हुन्न, तथ्य र प्रमाणले भेटेसम्म भ्रष्टचारको मुद्दामा मुछिएका जुनसुकै ओहदाका व्यक्ति तथा पार्टीका भए पनि कारबाही हुन्छ ।’
उनले राजनीतिमा रहेकालाई एउटा कानून र सर्वसाधारण नागरिकका लागि अर्को कानून नभएको भन्दै कानून सबैका लागि बराबर भएकाले दोषीलाई कारबाही भएरै छाड्ने आश्वासन दिए ।
दोषी र अपराधी नछुट्ने गरी अनुसन्धान प्रक्रिया अगाडि बढिरहेकाले भ्रष्टाचारी हुन् की होइनन्, दोषी हुन् की होइनन् भन्ने विषयमा निष्पक्ष छानबिन गरेर दोषीलाई कानूनी दायमा ल्याउन आफूले निर्देशन दिएको उनको भनाइ छ ।
उनले भने, ‘भ्रष्टाचारमा मुछिएका ठूलाबडा भनिएकाहरूलाई कारबाही नगरे के गरिब, निमुखाहरूलाई कारबाही गर्नु त ? भ्रष्टाचार गर्नेलाई कारबाही हुन्छ ।’
समाजवादमा गएपछि पनि भ्रष्टाचार स्वतः अन्त्य नहुने भन्दै उनले कमिशनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जबर्जस्तरूपमा गाँजेको भनाइ राखे ।
गृहमन्त्री श्रेष्ठले नयाँ प्रकारको लोकतन्त्र स्थापित गर्न नसक्दा जनतामा निराशा र विकर्षण रहेको स्वीकार गर्दै आर्थिक सामाजिक रूपान्तरणको प्रक्रिया धेरै धिमा र मन्द गतिमा सीमित रहेको धारणा राखे ।
उनले भने, ‘भ्रष्टाचारको साङ्लोमा राजनीति बेरिएकाले त्यसलाई भत्काएर राजनीतिलाई सफा नगरी देश बदल्न सकिँदैन ।’ समाजवादको आजको मोडल र ढाँचाबारे बहसकै रूपमा रहेको र समाजवाद निर्माणको बाटो के हो भन्ने पनि बहसकै रूपमा रहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.