Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गृहमन्त्रीको आक्रोश : अपराध र ठगीमा लागेका पक्राउ पर्दा दबाब किन

loading views..
Nepal Telcome

पोखरा। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध र ठगीमा लागेकालाई पक्राउ गर्दा सरकारमाथि दबाब सिर्जना गरिएको बताएका छन् ।
गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै श्रेष्ठले अपराध, ठगी, लुट र जालसाँजीमा मुछिएकाहरु पक्राउ पर्नासाथ दबाब आउने गरेको गुनासो गरे । ‘तर, तिनीहरुलाई देशले पनि छुट दिन सक्दैन । आफ्ना कर्तव्य निर्वाह गर्दा कुनै पनि हस्तक्षेप नसहन म सुरक्षा निकायलाई अपिल गर्छु’, उनले भने, ‘अपराध, ठगी, जालसाजी र लुटमा पक्राउ परेपछि राज्यका उच्च निकायमा दबाब दिने, नेता तथा प्रभावशाली व्यक्तिलाई भनसुन गर्ने प्रवृत्ति देखा परेको छ ।’

गृहमन्त्रीले कर्मचारी पक्राउ पर्दा संगठनले दबाब दिने, व्यवसायी पक्राउ पर्दा निजी क्षेत्रले पत्रकार सम्मेलन गरी दबाब दिने प्रवृत्ति हाबी भएको भन्दै अपराधी कसैलाई पनि छुट नहुने चेतावनी दिए । वित्तीय अपराधका कारण नागरिकहरू बेघरबार भएकातर्फ चिन्ता व्यक्त गर्दै उनले वित्तीय अपराध नियन्त्रण गर्न कडाइका साथ उत्रिन सुरक्षा निकायलाई निर्देशन दिए ।
उद्योगी अरुण चौधरी पक्राउ परेकोमा उद्योगीहरूले पत्रकार सम्मेलन गरेकोमा गृहमन्त्रीको असन्तुष्टि थियो । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा सिजि होल्डिङ्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक चौधरीसहित तीन जनालाई प्रहरी अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेकोमा आपत्ति जनाउँदै नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलन गरी सरकारको विरोध जनाएको थियो ।
आफ्नो कर्तव्य निर्वाह गर्दा माथिल्लो हस्तक्षेप नसहन सुरक्षा निकायलाई निर्देशन दिँदै गृहमन्त्री श्रेष्ठले राज्यका उच्च निकायमा दबाब दिने, नेता तथा प्रभावशाली व्यक्तिलाई भनसुन गर्ने प्रवृत्ति स्वीकार नगर्ने बताए ।
गृहमन्त्री श्रेष्ठले सहकारीबाट हुने ठगी नियन्त्रण गर्न सरकारले ऐन बनाउने, नियमनकारी निकाय गठन गर्ने, बचत तथा सुरक्षण कोष बनाउने, सहकारी विभागमा परेका उजुरीमाथि छानबिन गर्न तत्काल सुरक्षा निकायमा पठाउने गरी सरकारले निर्णय गरेको जानकारी दिएका छन् । उनले सहकारीको नाममा ठगहरू देखा परेको भन्दै त्यसविरुद्ध सरकारले कडाइ गर्ने बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link