पोखरा, १२ कात्तिक । हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अर्नब’ को दोहोरो प्रभाव परेको छ। यस मौसमी प्रणालीका कारण आज र भोलि देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आजको मौसम : महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ।
कोशी र बागमतीका हिमाली भेगका केही स्थान तथा बाँकी हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै, मधेससहित कोशी र बागमतीका पहाडी तथा तराई भेगका थोरै स्थान र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मध्यम वर्षा हुनसक्नेछ।
राति भारी वर्षाको चेतावनी : आज रातिदेखि मौसम अझ बढी सक्रिय हुने देखिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीलगायत कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा पूर्णतया बादल लाग्नेछ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको प्रक्षेपण गरिएको छ। साथै, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
शुक्रबार देशभर वर्षा र हिमपातको जोखिम : भोलि शुक्रबार देशभर मौसम बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिमका धेरैजसो स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुनेछ।
शुक्रबार गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।






