Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही

पोखरा,५ असोज । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकीको प्रथम सम्मेलनले गीता शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । बिहीबार राति पोखरामा सम्पन्न प्रथम सम्मेलनले तनहुँकी शाहीको अध्यक्षतामा १ सय २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।

उपाध्यक्षहरुमा लीला बिक (गोरखा), फूलमाया पुन (बागलुङ) र शोभा क्षत्री (पर्वत), सचिवमा निर्मला सुवेदी ‘क्रान्ति’ (कास्की) र कोषाध्यक्षमा दिलमाया पुन (बागलुङ) निर्वाचित भए । ४ सहसचिवमध्ये हेमकुमारी सुनार (नवलपुर) निर्वाचित भए।पदाधिकारीमध्ये २ सहसचिव चयन हुन बाँकी छ ।

कुल १ सय २१ सदस्यीय कार्यसमितिमा निर्वाचन मण्डलले ९३ सदस्यीयको नाम घोषणा गरेको थियो । सदस्यतर्फ अझ १९ सदस्य रिक्त छन् ।

सम्मेलनको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) कि उपाध्यक्ष पम्फा भुषालले संविधानको रक्षा र कार्यान्वयनका लागि अखिल क्रान्तिकारी महिलाहरु सचेत र सजग रहन अपिल गर्नुभयो। पार्टीकी केन्द्रीय उपाध्यक्ष भुषालले नेपालको संविधानमाथि चुनौती थपिएको उल्लेख गर्दै जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त संविधानबारे बेमौसमको बाजा बजाइन थालेको पनि बताउनुभयो। उहाँले भन्नुभयो, ‘जनयुद्ध र जनआन्दोलनका जगमा प्राप्त संविधानको कार्यान्वयन र रक्षाका लागि गण्डकी प्रदेशका अखिल क्रान्तिकारी महिलाहरु अग्रभागमा रहेर महत्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वस्त छु ।’आर्थिक समृद्धि र सामाजिक न्यायका लागि माओवादी केन्द्र प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

माओवादी पार्टी आर्थिक क्षेत्रमा भ्रष्टाचारलाई निरुत्साहित गराई शुशासन कायम गर्ने पक्षमा रहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘भुटानी शरणार्थी काण्ड, बालुवाटार जग्गा काण्ड, सुन काण्ड, सहकारी काण्ड आउन थाल्यो र ती काण्डहरुमा मुछिएका भ्रष्ट, दलाल, बिचौलिया र कमिसनखोरमाथि कारबाही हुन थाल्यो तब, बूढानीलकण्ठ, बालकोटतिर दौडधूप र चलखेल हुन थाल्यो । त्यसपछि, माओवादी नेतृत्वको सरकारलाई अपदस्थ गरियो ।’ भ्रष्टाचारीहरुलाई दायाँ–बायाँ राखेर हालको ओली सरकार बनेको उहाँको आरोप छ ।

अनेमसंघ (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष अमृता थापामगरले महिलाहरुलाई अग्रगमनका पक्षमा अग्रमोर्चामा रहन अपिल गर्नभयो। अनेमसंघ (क्रान्तिकारी) ले स्थापनाकालदेखि नै महिलामाथि हुँदै आएको आर्थिक, सामाजिक र सांस्कृतिक विभेदविरुद्ध आन्दोलित रहेको उल्लेख गर्नुभयो।

पार्टीका गण्डकी प्रदेश इन्चार्ज दीननाथ शर्माले देशको ठूला–ठूला आमूल परिवर्तनमा नेपाली महिलाहरुको सशक्त भूमिका रहेको उल्लेख गर्नुभयो । ‘महिलाहरु क्रान्तिकारी शक्ति हुन्। महिलाहरु क्रान्तिका संवाहक हुन्छन् । परिवर्तनका आन्दोलन र जनयुद्धमा महिलाहरु नै अग्रमोर्चामा थिए। ती महिलाहरु क्रान्तिकारी शक्ति थिए । क्रान्तिकारी शक्ति जन्माउने पनि महिलाहरु नै हुन्।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) गण्डकी अध्यक्ष गायत्री गुरुङ, तनहुँ जिल्ला इञ्चार्ज आशा कोइराला, बागलुङ जिल्ला इन्ञ्चार्ज बलावती शर्मा, अनेमसंघ (क्रान्तिकारी) उपाध्यक्ष एवं गण्डकी प्रदेश सांसद सुशीला सिंखडा,अखिल नेपाल बुद्धिजीवी संगठनका रामचन्द्र भण्डारी लगायतले सम्बोधन गर्नुभएको थियो।
सो अवसरमा अनेमसंघ (क्रान्तिकारी) गण्डकी प्रदेश मातहतका जिल्ला संस्थापकलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
हरिकला मरासिनी (बागलुङ), मञ्जु खनाल (कास्की), लीला भट्टराई (लमजुङ), सिर्जना गैरे (नवलपुर), चिनीमाया श्रेष्ठ (तनहुँ), सम्झना कुमाल (स्याङ्जा) यामकुमारी पुन (म्याग्दी), पुष्पा कुमाल (गोरखा), सम्झना कुमाल (स्याङ्जा) लाई सम्मान गरिएको हो ।
त्यस्तै, जेलब्रेकर कमला नहर्की, नीता बिक र सञ्जु अर्याललाई सम्मान गरिएको थियो । जनयुद्ध घाइते, अपांग गोमा घिमिरे ‘रुची’ लाई सम्मान गरिएको थियो ।

arrow प्रतिक्रिया दिनुहोस्