Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

एमालेलाई नैतिक समर्थन गर्न नसकिने तहमा पुर्‍याइयो : उषाकिरण भण्डारी

loading views..
Nepal Telcome

काठमाडौं, ७ साउन। मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले नेकपा (एमाले) पार्टीप्रति कडा असन्तुष्टि जनाउँदै पार्टीले आफूहरूलाई नैतिक समर्थन गर्नसमेत नसकिने तहमा पुर्‍याएको बताएकी छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने तयारीबीच एमाले पार्टीको निर्णयमाथि प्रतिक्रिया जनाउँदै उषाकिरणले सामाजिक सञ्जालमार्फत आफ्नो धारण सार्वजनिक गरेकी हुन्। उनले लेखेकी छन्, “तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीं अचम्मित छैन। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो।”

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी तथा स्वर्गीय जननेता मदन भण्डारीको सन्तान उषाकिरणले एमाले नेतृत्वमाथि अप्रत्यक्ष आरोप लगाउँदै लेखेकी छन्, “हामीलाई त आमाले राजनीतिमा जान्न भनेपनि सधैं देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्थ्यो। सोही अनुरूप कोशिश गरियो तर पछिल्लो एक महिनाबाट ज्ञान भयो– नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन्। अनि, उनीहरूलाई नैतिक समर्थन चाहिएको पनि रहेनछ।”

पुष्पलाल श्रेष्ठको स्मृति दिवसका दिन सार्वजनिक गरिएको यो भनाइमा उनले एमालेप्रति गहिरो आक्रोश पोखेकी छन्। उनले लेखेकी छन्, “आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग! मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार नेकपा (एमाले) मा नैतिक समर्थन गर्न देखिनेगरी प्रस्तुत हुँदैन। आज त्यो कुराको अनुभूति आफ्नै जीवनमा भएको छ।”एमाले सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावित पुनः राजनीतिक सक्रियताको विषयमा व्यापक छलफल भएपछि पार्टी नेतृत्वले उनलाई रोक्ने खालको धारणा बनाएको भन्ने टिप्पणी सार्वजनिक भइरहेका छन्। त्यसप्रति आक्रोशित उषाकिरणको यो धारणा अब पार्टी भित्र र बाहिर बहसको विषय बन्ने देखिन्छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link