Skip to content
Pokharapress Logo
२७ आश्विन २०८३, मंगलवार

रास्वपा सांसद खगेन्द्र सुनार गम्भीर विवादमा: पूर्वराज्यमन्त्रीलाई ‘ब्ल्याकमेल’ र धम्की दिएको अडियो सार्वजनिक

बैंकिङ कारोबार पनि शंकास्पद!

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा दलित अभियन्ता खगेन्द्र सुनार गम्भीर विवादमा तानिएका छन्। बागमती प्रदेशकी पूर्वराज्यमन्त्री समेत रहेकी एक महिलालाई विवाहको प्रलोभन देखाई अश्लील भिडियो बनाएर ‘ब्ल्याकमेल’ गरेको तथा ज्यान मार्ने धम्की दिएको भन्दै चारवटा अडियो संवाद सार्वजनिक भएपछि उनी विवादको घेरामा परेका हुन्।

जनआस्था डटकमका अनुसार प्राप्त अडियो क्लिपमा सांसद सुनारले ती महिलालाई अश्लील गालीगलौज गर्दै रकम असुल्ने प्रयास गरेको सुनिन्छ। अडियोमा सुनारले महिलालाई तत्काल पदबाट राजीनामा दिन दबाब दिँदै ‘म पुग्दासम्म राजीनामा दिएर संसदीय दललाई बुझा, तेरो काल नजिक आइरहेको छ’ भन्दै धम्क्याएका छन्।

जवाफमा ती महिलाले ‘हजुरले मेरो नाङ्गो भिडियो बनाउनुभयो, मैले सहेँ तर मलाई किन यसरी टर्चर गरिरहनुहुन्छ?’ भन्दै अनुनय-विनय गरेकी छन्। त्यस्तै, रकम माग गर्दै सुनारले मानसिक दबाब दिएपछि महिलाले ‘बदनाम हुने डरले जसरी भए पनि पैसा जुटाउने’ लाचारी व्यक्त गरेको संवाद अडियोमा सुनिन्छ।

महिलाले तत्कालीन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई समेत आफूमाथि भएको दुर्व्यवहारबारे जानकारी गराएको खुलेको छ। पाण्डेले ती महिलाले विगतमा कुटपिटको गुनासो गरेको पुष्टि गर्दै भनेका छन्, “म मुख्यमन्त्री भएको बेला उनले उजुरी गरेकी थिइन्, तर पीडक व्यक्ति अहिलेका सांसद खगेन्द्र सुनार नै हुन् भन्ने चाहिँ मलाई जानकारी थिएन।”

वित्तीय कारोबारमा पनि प्रश्न चिन्ह धम्की र ब्ल्याकमेलिङसँगै सांसद सुनारको बैंकिङ कारोबारसमेत शंकास्पद देखिएको दाबी गरिएको छ। सिटिजन्स, एनआईएमबी, महालक्ष्मी तथा कामना सेवा विकास बैंकलगायतमा रहेका उनका खाताहरूमा युके, जापान र भारतबाट ठूलो परिमाणमा रकम भित्रिएको विवरण भेटिएको छ। ४८० पृष्ठ लामो बैंक स्टेटमेन्टमा उल्लेखित कारोबारको स्रोत र प्रयोजन स्पष्ट नरहेको समाचारमा उल्लेख छ।

यस विषयमा प्रतिक्रिया लिन सांसद सुनारको फोन नम्बरमा सम्पर्क गर्दा फोन अफ रहेको र उनका स्वकीय सचिव राजु सुनारले कार्यक्रममा व्यस्त रहेको भन्दै कुराकानी टारेको समाचारमा जनाइएको छ। आफूलाई सामाजिक तथा राजनीतिक अभियन्ताका रूपमा चिनाउँदै संसद भवन छिरेका सुनारमाथि यति गम्भीर आरोप लागेपछि पार्टीले चाल्ने कदमप्रति चौतर्फी चासो बढेको छ।

स्रोत: जनआस्था डटकम

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link