गोरखा, १५ असोज ।सिरानचोक गाउँपालिकामा पारिवारिक सद्भाव र ज्येष्ठ नागरिक सम्मानको सन्देशसहित एक विशेष कार्यक्रम सम्पन्न भएको छ। जेष्ठ नागरिक क्रियाशील केन्द्रको आयोजनामा भएको कार्यक्रममा सिरानचोक गाउँपालिका–३ निवासी मेलिना ढकाल पोखरेललाई ‘असल बुहारी’ को रूपमा सम्मान गरिएको छ।
परिवार र समाजमा ज्येष्ठ नागरिकहरूको उचित हेरचाह, संरक्षण तथा पारिवारिक एकता कायम राख्न उदाहरणीय भूमिका निर्वाह गरेको भन्दै पोखरेललाई सम्मानपत्रद्वारा सम्मान गरिएको संस्थाले जनाएको छ।
सोही अवसरमा समाजका लागि लामो समय योगदान पुर्याएका ८० वर्ष उमेर पूरा भएका स्थानीय ज्येष्ठ नागरिकहरूलाई समेत दोसल्ला र सम्मानपत्रसहित विशेष सम्मान गरिएको थियो।
जेष्ठ नागरिक क्रियाशील केन्द्रका अध्यक्ष खेमराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिरानचोक गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जगदिश्वर ढकाल र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्यालको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले संयुक्त परिवारको महत्त्व घट्दै गइरहेको वर्तमान समयमा यस्ता कार्यले नयाँ पुस्तालाई पारिवारिक दायित्वप्रति जिम्मेवार बनाउने बताए। बुहारीको सकारात्मक भूमिकाको कदर र ज्येष्ठ नागरिकप्रतिको आदरभावले समाजमा नैतिक संस्कार प्रवर्द्धन गर्न टेवा पुग्ने धारणा उनीहरूले व्यक्त गरे।






