Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

प्रधानमन्त्री शेरबहादुर देउवाले यसै साता भारतको औपचारिक भ्रमण गर्ने

loading views..
Nepal Telcome

पोखरा।प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने हुनुभएको छ । भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देउवाको भारत भ्रमणबारे जानकारी दिएको हो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान लाग्नुभएको हो।

प्रधानमन्त्री देउवासँगै भ्रमणमा उहाँकी पत्नी डा आरजु देउवा पनि रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।भारत भ्रमणको लागि प्रधानमन्त्री देउवा चैत १८ गते त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।

पाँचौं पटक प्रधानमन्त्री भएपछि देउवाले गर्न लागेको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो।भ्रमणका बेला प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच चैत १९ गते द्विपक्षीय वार्ता हुनेछ । सोही दिन उहाँले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुहुनेछ ।

भारतका विदेशमन्त्री एस. जयशंकर र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नुहुनेछ ।प्रधानमन्त्री देउवाले नयाँदिल्लीमा कार्यक्रमहरु सकेपछि उत्तर प्रदेशको वराणासी भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

‘भारत र नेपालबीच सदियौं पुरानो र विशेष मित्रता र सहयोगको सम्बन्ध रहेको छ । हालका वर्षहरूमा सहयोगका क्षेत्रमा साझेदारी उल्लेखनीय वृद्धि भएको छ । आगामी भ्रमणले दुई पक्षलाई यो व्यापक साझेदारीको समीक्षा गर्ने र दुई देशका जनताको हितमा अघि बढ्न अवसर प्रदान गर्नेछ,’ भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link