Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रधानमन्त्री

loading views..
Nepal Telcome

पोखरा। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभएको छ।शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले उक्त कुुरा बताउनुभएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, “माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ।”

“हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन। यसपटक सरकारको नेेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ” प्रधानमन्त्रीले भन्नुभयो, “त्यसका लागि नयाँ ढंगले सोच्दैछौँ। हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ।”

“हामीले राम्रो गर्न खोज्दैछौँ। सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको छ, त्यसलाई सफा नगरी देश बन्दैन” प्रधानमन्त्रीले भन्नुभयो, “देश निर्माणका लागि फेरि नयाँ फड्को जरूरी छ। सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको छ। यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ। सरकार यसमा दृढ छ।”

“हाम्रा प्राकृतिक साधनस्रोत उपयोग गरेर देशको समुन्नतिका पक्षमा फड्को हान्ने मन छ” प्रधानमन्त्रीले भन्नुभयो, “यसका लागि के-कसरी काम गर्न सकिन्छ, यतातर्फ पनि सबैले सोचौँ। पार्टीका सबै नेता-कार्यकर्ताले देशको समृद्धिको पक्षमा काम गर्ने संकल्प गरौँ।”

“हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ। आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौँ” उहाँले भन्नुभयो, “समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ। पूर्वमाओवादीहरू पनि छलफलमा छौँ। फेेरि पार्टी एकताको आधार निर्माण हुँदैछ। पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ।”

“हामी विशेष महाधिवेशन गर्नेमा पनि छौँ, यसले पार्टी पुनर्निर्माणमा योगदान पुग्नेछ” प्रधानमन्त्रीले भन्नुभयो, “सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै लैजानुपर्छ।”

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link