पोखरा,३ असोज। नेकपा माओवादी केन्द्रको उपाध्यक्ष पम्फा भुषालले गणतन्त्र नरुचाउने शासकलाई संविधानले भतभति पोलिरहेको टिप्पणी गर्नुभएको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)गण्डकीको प्रथम अधिवेशनलाई विहीबार पोखरामा संबोधन गर्दै उहाँले गणतन्त्रमा गणतन्त्रकै विरोधी शासक बन्दा संविधानले तिनीहरुलाई पोलिरहेको बताउनुभएको हो। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ईंगित गर्दै उहाँले भन्नुभयो,‘वयलगाडा चढेर अमेरिका पुगिन्छ ? गणतन्त्र आउँदैन , भन्नेहरु अहिले गणतन्त्रको शासक बन्दा त्यो संविधानले पोलिराखेको छ । त्यसमा लेखिएका गणतन्त्र, संघीयता, समावेशी, समानुपातिकलगायतका अधिकारहरु नरुचाउनेलाई संविधानले पोलिराखेको छ ।’ जनयुद्धका यी उपलब्धीहरु देख्दा जनताको घरघरमा माओवादी छ भन्ने लागेकाले ती उपलब्धी हटाउने षडयन्त्र भइरहेको उहाँको भनाइ रहेको छ ।
उपाध्यक्ष भुषालले दशौं हजार सहिदको वलिदान, हजारौं महिला दिदी बहिनीहरुले लडेर ल्याएको संविधान संसोधन गरेर जनताको अधिकार खोस्ने षडयन्त्र भए त्यसको प्रतिवाद महिलाहरुले गर्ने बताउनु भयो। समाजवादमा जानका लागि संविधान संसोधन हुनसक्छ,उहाले भन्नुभयो,‘तर समावेशी र समानुपातिक अधिकार खारेज गर्न संविधान संसोधन गर्ने षडयन्त्र भइरहेको छ । यसका बिरुद्ध सजग र सचेत भएर बस्नुहोला । त्यसका लागि सडकबाट पनि लड्नुपर्ने हुनसक्छ ।’ उहाँले संविधान संसोधन गर्न सकिने तर त्यसका लागि जनताको म्याण्डेट जरुरी रहेको बताउनु भयो। त्यसका लागि निर्वाचनमा जाँदा के के विषयमा संसोधन गर्ने हो त्यसलाई एजेण्डाका रुपमा लगेर जनमतले अनुमोदन गरेपछि भने संविधान संसोधन गर्न सकिने उहाँको भनाइ रहेको धियो। उनले महिलाको प्रतिनिधित्व ३३ प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुयाउने, दलित, अल्पसंख्यकलगायतको प्रतिनिधित्व जनसंख्याका आधारमा सुनिश्चित गर्ने हो भने त्यसका लागि संविधान संसोधन गर्न महिलाहरुले सहयोग गर्ने बताउनुभयो। उहाँले संविधान संसोधन गर्नुको सट्टामा दलित, महिला, मधेशी, मुश्लिम, आदिवासी,जनजाति,अल्पसंख्यकलगायतले पाएको अधिकार रक्षाका निम्ति, कार्यान्वयनका निम्ति लाग्न आग्रहसमेत गर्नु न् ।
उपाध्यक्ष भुषालले प्रचण्डको प्रतिवादपछि संविधान संसोधनको विषय कांग्रेस–एमालेले उठाउन छाडेको दाबीसमेत गरिन् । समावेशी, समानुपातिक अधिकार मास्ने षडयन्त्र बुनेर हठात रुपमा प्रजातान्त्रिक मूल्यमान्यता विपरित दुई ठूला दल मिले,उहाँले भन्नुभयो।,‘तर प्रचण्डले प्रतिवाद गरेपछि अहिले त्यो विषय स्थगन भएको छ । त्यसपछि उपसभामुख हटाउन खोजे, त्यसकोपनि माओवादीले नै प्रतिवाद गरेपछि त्योपनि अहिले उठाउन छाडेका छन् ।’
उपाध्यक्ष भुषालले संविधानले दिएको अधिकार लिनपनि महिलाहरु हिच्किचाईरहेको टिप्पणी गर्नु भयो। अंश, वंश, ज्यालामा असमानता रहेपनि बुबा, दाजुभाई, श्रीमान, छोरा रिसाउँछन् कि भनेर महिलाहरुले पाएको अधिकारपनि लिन हिच्किचाईरहेको उहाको भनाई छ ।
नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज दीननाथ शर्माले दश वर्ष भित्रमा समाजवादी क्रान्ति हुने दाबी गरे । हरेक १०/१० वर्षमा देशमा परिवर्तनका लागि क्रान्ति भइरहने भन्दै अब समाजवादी क्रान्ति हुने उहाँको भनाई थियो । ‘समाजवादी क्रान्ति त हुन्छ हुन्छ । किनकी यहाँ माओवादी छ’–उँहाले भन्नुभयो।
अधिवेशनको अवसरमा जनयुद्धका क्रममा पक्राउ परेर जेल ब्रेक गर्ने महिला नेतृहरु कमला नहर्की, सञ्जु कुमाल र नीता विक तथा जनयुद्धकी घाईते पत्रकार गोमा घिमिरेलाई सम्मान गरिएको थियो ।