Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

एमालेमा पूर्वमाओवादीको उपेक्षा: नेतृत्वविहीन समूह अब गडबडीको तयारीमा!

loading views..
Nepal Telcome

काठमाडौं,५ साउन। नेकपा (एमाले) भित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमन घोषणासँगै तीव्र भएको कित्ताबन्दीको राजनीतिले पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूलाई थप अपमानजनक स्थितिमा पुर्‍याएको छ।

अध्यक्ष केपी शर्मा ओलीको संरक्षणमा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका नेताहरू आज भूमिकाविहीन, गुमनाम र निराश छन्। संगठनभित्र उनीहरू उपेक्षित, जिम्मेवारीविहीन र आत्मग्लानीमा छन्।

नेकपा विभाजनपछि ओलीको लाइन समातेका नेताहरू – रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, दावा लामा, गौरीशंकर चौधरी लगायतलाई तत्कालीन सत्ताको स्वाद देखाएर एमालेमा तानिएको थियो। तर हाल तीमध्ये धेरै राजनीति, संगठन र प्रभाव–सबैबाट ओझेलमा छन्। कोही पुरानै घर फर्किए, कोही हराए।

तत्कालीन नेकपाको सचिवालय सदस्य र गृहमन्त्रीसमेत रहेका बादल अहिले मौनतामा सीमित छन्। ‘उपाध्यक्ष’ भनिए पनि वरीयता र भूमिकाको हिसाबले उनी पार्टीभित्र अन्तिम लाइनमा छन्।

सचिव रहेका लेखराज भट्ट पनि संगठनमा प्रभावशाली भूमिकामा देखिँदैनन्। रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणपछि निष्क्रिय छन्। प्रभु साह आफ्नै आमजनता पार्टी खोलेर एमालेबाट टाढा भइसकेका छन्। मणि थापा त राजनीतिबाटै पलायन भएका छन्।

तल्लो तहमा चुलिंदो असन्तोष

बाग्लुङ, महोत्तरी, कैलाली, कपिलवस्तु लगायत जिल्लाका नेताहरू जिम्मेवारीविहीन छन्। धेरैजना माओवादी केन्द्र फर्किएका छन्, बाँकी फर्कने मनस्थितिमा छन्। संगठनभित्र लगातारको बेवास्ताले उनीहरू विचलित छन्।

एमाले प्रचार विभागमा रहेका एक पूर्वमाओवादी नेताले पोखराप्रेससँग भने, “हिजोको संघर्ष, बलिदान र जनाधारको कुनै मूल्य छैन यहाँ। पैसा र हठ गर्नेहरूको मात्रै सुनेर अवसर बाँडिन्छ।”

एकीकृत नेतृत्वको अभावले पूर्वमाओवादी समूह आज छरिएको छ, कमजोर छ। ‘बादल ढुंगा हुन् – मौन छन्, बोल्दैनन्’ भन्ने टिप्पणी तीव्र छ।

 “विरासत जोगाउन विद्रोह आवश्यक”

एमालेको हालको सत्तीय राजनीतिको बाँडफाँडमा माओवादी पृष्ठभूमिका नेताहरूको स्थान शून्यप्रायः छ। संघीय संसदमा रायमाझीको पद समाप्त भइसकेको छ। गण्डकीमा लीलाबहादुर थापा मात्रै समानुपातिक सांसद छन्।

“२३ जना केन्द्रीय सदस्य थिए बादलसँग”, एमालेकै एक वरिष्ठ नेताले भने, “तर नेतृत्वविहीनताले त्यो शक्ति खेर गयो। आज तीमध्ये अधिकांश निष्क्रिय छन्, बाँकी आफूखुसीमा छन्।”

यसबीच, पूर्वमाओवादीहरू छुट्टै भेला गर्ने, आफ्नै पहिचान बनाएर अघि बढ्ने योजना बनाउन थालेका छन्। संगठनभित्र सम्मानजनक उपस्थिति खोज्ने हो भने विद्रोह नगरी नहुने अवस्था आएको उनीहरूको ठहर छ।

यद्यपि, ठोस नेतृत्व र स्पष्ट रणनीति नहुँदा अहिलेको असन्तोष मुडमै सीमित रहने खतरा छ। तर चुप लागेर बस्ने अवस्था भने छैन भन्ने संकेत तीव्र बन्दै गएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link