Skip to content
Pokharapress Logo
२८ भाद्र २०८३, आईतवार

पोखरा उद्योग वाणिज्य संघको ७० वर्षे इतिहासमा नयाँ रेकर्ड : पहिलोपटक महिला नेतृत्वमा शोभा गौतम निर्वाचित

loading views..
Nepal Telcome

२२ भदौ पोखरा पोखरा उद्योग वाणिज्य संघको ७० वर्ष लामो इतिहासमा पहिलोपटक महिला नेतृत्व स्थापित भएको छ। संघको ३६ औं महाधिवेशनबाट शोभा गौतम अध्यक्ष पदमा निर्वाचित हुँदै ऐतिहासिक सफलता हासिल गरेकी हुन्।

गौतमले तीन पुरुष प्रतिस्पर्धीहरू अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई कडा प्रतिस्पर्धाबीच पराजित गरेकी हुन्। निर्वाचनमा अर्जुन पोखरेल उपविजेता बने। यसअघि विन्दु कोइराला र हीरा भट्टराईले अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरे पनि नेतृत्वसम्म पुग्न सकेका थिएनन्।

संघको अघिल्लो कार्यकालमा महासचिवको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेकी गौतमले आफ्नो यो ऐतिहासिक जितलाई संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाजका रूपमा व्याख्या गरेकी छन्। उनले समग्र निजी क्षेत्रको हकहितका साथै उद्यमशीलता प्रवर्द्धनमा आफ्नो कार्यकाल समर्पित रहने प्रतिबद्धता व्यक्त गरिन्।

गौतमको व्यावसायिक यात्रा प्रेरणादायी र संघर्षपूर्ण रहेको छ। आजभन्दा २६ वर्षअघि उनले पोखरा उद्योग वाणिज्य संघकै कार्यालयअगाडि सानो चिया पसल सञ्चालन गरेर उद्यमशीलताको यात्रा सुरु गरेकी थिइन्। पछि महेन्द्रपुलमा ‘पुष्पाञ्जली ब्युटी पार्लर’ सञ्चालन गर्दै व्यवसाय विस्तार गरेकी उनी निरन्तरको लगन र मेहनतका कारण आज त्यही संस्थाको सर्वोच्च पदमा पुग्न सफल भएकी हुन्।

गौतमको यस ऐतिहासिक जितले पोखरासहित देशभरका महिला व्यवसायीहरूमा नयाँ ऊर्जा र उत्साह थपेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link