Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

जेन-जी पुस्ताको आन्दोलनलाई प्रचण्डको समर्थन, दमन र घुसपैठको निन्दा गर्दै उच्चस्तरीय छानबिनको माग

दमन र घुसपैठको घोर निन्दा!

loading views..

काठमाडौँ, २६ भदौ २०८२।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको पक्षमा जेन-जी पुस्ताले सुरु गरेको आन्दोलनको समर्थन गर्दै सरकारले गरेको बर्बर दमन र नरसंहारको घोर निन्दा गर्नुभएको छ। आज एक विस्तृत विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

​उहाँले आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटका घटनाहरू आन्दोलनकारी युवाहरूबाट नभई अवाञ्छित र प्रतिगामी तत्वहरूको घुसपैठबाट भएको दाबी गर्दै सम्पूर्ण घटनाको उच्चस्तरीय न्यायिक छानबिन गर्न माग गर्नुभएको छ।

जेन-जीका माग र माओवादीको एजेन्डा एउटै

​अध्यक्ष प्रचण्डले जेन-जी पुस्ताले उठाएका भ्रष्टाचारविरुद्धका मुद्दा, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, सांसद मन्त्री बन्न नपाउने व्यवस्था र उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन जस्ता मागहरू आफ्नो पार्टीले लामो समयदेखि उठाउँदै आएको स्मरण गराउनुभएको छ। “आज जेन-जी पुस्ताले यिनै मुलभूत मुद्दालाई लिएर आन्दोलनमा उत्रनु हाम्रा लागि गर्वको कुरा हो,” विज्ञप्तिमा भनिएको छ, “यसले राष्ट्रले अग्रगमनतर्फ अघि बढ्ने सम्भावनाको ढोका खोलेको छ र यसका लागि जेन-जी पुस्ता विशेष धन्यवादको पात्र हुनुहुन्छ।”

​उहाँले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहले वर्तमान गठबन्धन बनाएको र सोही गठबन्धन सरकारको अकर्मण्यता, दम्भ र संवेदनहीनताका कारण जनताको आक्रोश विस्फोट भएको बताउनुभएको छ।

दमन र घुसपैठको निन्दा, शान्तिपूर्ण समाधानमा जोड

​अध्यक्ष प्रचण्डले आन्दोलनको पहिलो दिनमै सरकारले युवाहरूको आवाज सुन्नुको सट्टा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने र बर्बर दमन गरी नरसंहार मच्चाएको आरोप लगाउनुभएको छ। उहाँले दोस्रो दिन देखिएका तोडफोड र आगजनीका घटनाहरू जेन-जी आन्दोलनको आदर्श र घोषित नीतिविपरीत भएको बताउँदै भन्नुभयो, “सिंहदरबार, संसद भवनलगायतका ऐतिहासिक संरचनामाथिको आक्रमण र लुटपाट नियोजित घुसपैठ हो। यसको गम्भीर छानबिन हुनुपर्छ।”

​उहाँले लोकतान्त्रिक गणतन्त्र हजारौँ सहिदको बलिदानबाट प्राप्त भएको स्मरण गराउँदै यसको विकल्प अझ सुदृढ र समुन्नत लोकतन्त्र मात्र हुन सक्ने बताउनुभयो। “संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने निकासले प्रतिगमनलाई फाइदा पुर्‍याउँछ,” उहाँले भन्नुभएको छ, “त्यसैले सबै समस्याको समाधान संविधानभित्रैबाट खोजिनुपर्छ।”

संयम र एकताका लागि अपिल

​अध्यक्ष प्रचण्डले संक्रमणकालीन परिस्थितिको फाइदा उठाउँदै प्रतिगामी शक्तिहरूले व्यवस्था नै उल्ट्याउने षड्यन्त्र गरिरहेकोप्रति सचेत रहन सम्पूर्ण शान्ति, संविधान र गणतन्त्र पक्षधर शक्तिहरूलाई एकजुट हुन अपिल गर्नुभएको छ। उहाँले आफ्नो पार्टी पंक्तिलाई जनताको जिउधन र सार्वजनिक सम्पत्तिको रक्षाका लागि तम्तयार रहन निर्देशन दिनुभएको छ।

​अन्तमा, उहाँले जेन-जी पुस्ताका जायज मागहरूलाई लोकतान्त्रिक प्रक्रियाबाट पूरा गर्न, सम्मानित राष्ट्रपतिबाट भइरहेको पहललाई सकारात्मक रूपमा लिँदै, र शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायले खेलेको भूमिकाको सराहना गर्दै सबै पक्षलाई संयमता, संवाद र शान्तिपूर्ण निकासका लागि आह्वान गर्नुभएको छ। यस संवेदनशील घडीमा विचलित नभई संविधान र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिन उहाँले सबैमा आग्रह गर्नुभएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्