Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

चिसो बढेसँगै मुस्ताङका तल्लो क्षेत्रका विद्यालयहरू दुई महिनाका लागि बन्द

loading views..
Nepal Telcome

मुस्ताङ, पुस १८गते। हिउँदे मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङ जिल्लाका तल्लो तथा मध्यम क्षेत्रका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्थाहरू दुई महिनाका लागि बन्द भएका छन्। बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाअन्तर्गतका सरकारी सामुदायिक, निजी तथा गुम्बा विद्यालयहरूमा जाडो बिदा दिइएको हो।
शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङका प्रमुख रामेश्वर लामिछानेका अनुसार, यी पालिकाका विद्यालयहरू पुस १५ गतेदेखि बन्द भएका छन् भने फागुनको पहिलो र दोस्रो सातादेखि पुनः सञ्चालनमा आउने छन्।

“अत्यधिक चिसो र सम्भावित हिमपातका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बर्सेनि यो चलन कायम गरिएको हो,” प्रमुख लामिछानेले बताए।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका शिक्षा शाखा प्रमुख रेखा पन्तले पालिकाभित्रका चारवटा सरकारी तथा गुम्बा विद्यालयलाई ६० दिनको हिउँदे बिदा दिइएको जानकारी दिइन्। छुसाङ, कागबेनी र झारकोटका विद्यालयहरू पुस ८ गतेदेखि फागुन ८ गतेसम्म पूर्ण रूपमा बन्द छन्।
यस्तै, घरपझोङ गाउँपालिकामा आठवटा विद्यालय बन्द गरिएको शिक्षा शाखा प्रमुख शिव पुरीले बताए। यहाँका विद्यालयहरू पुस १५ देखि फागुन २० गतेसम्म बिदा रहने छन्। शिक्षकहरूको प्रशासनिक काम भने पुस २० पछि मात्र बन्द हुने उनको भनाइ छ।
थासाङ गाउँपालिकाका सातवटा विद्यालय पनि बन्द भएका छन्। शिक्षा शाखा प्रमुख धर्म खनालका अनुसार, फागुन १ गतेदेखि कक्षा सञ्चालन हुने गरी ४५ दिनको बिदा दिइएको छ।
यसरी तीन पालिकाका गरी १९ वटा विद्यालय बन्द भएका छन्। यसअघि माथिल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विद्यालयहरू कात्तिक अगावै घुम्ती कक्षा सञ्चालन गर्न पोखरा लगायतका तल्लो क्षेत्रमा स्थानान्तरण भइसकेका छन्।
मुस्ताङको हिमाली भूगोलका कारण हिउँदमा तापक्रम माइनसमा झर्ने र हिमपात हुने भएकाले विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकता दिइएको अधिकारीहरू बताउँछन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link