Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

कास्की-१ मा नेकपाको निर्वाचन कार्यालय उद्घाटन: ५३ जना एमाले कार्यकर्ता पार्टी प्रवेश

राजकाजीको जित सुनिश्चित भएको दाबी

loading views..
Nepal Telcome

पोखरा। नेकपाले आगामी निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन गरेको छ। शनिबार एक भव्य समारोहका बीच प्रमुख अतिथि श्रीनाथ बरालले कार्यालयको उद्घाटन गर्नुभएको हो।

कार्यक्रमको प्रारम्भमा देश र जनताका लागि जीवन आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

​कास्की निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङले यो निर्वाचन राष्ट्रियता, जनजीविका र संविधानको रक्षाका लागि भएको बताउनुभयो। उहाँले भन्नुभयो, “मैले विगतमा यस क्षेत्रको विकासका लागि करोडौँ बजेट ल्याएको छु। अब पर्यटन, जलस्रोत र तालतलैयाको माध्यमबाट आय वृद्धि गर्ने र बाँदर आतङ्क एवं सिँचाइको समस्या विधिपूर्वक हल गर्ने मेरो संकल्प छ।” उहाँले रतन पाण्डे र भद्रकाली जस्ता ऐतिहासिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विशेष नीति बनाउने प्रतिबद्धता जनाउँदै ‘तारा’ चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो।
​नेकपाको गण्डकी प्रदेशअध्यक्ष गायत्री गुरुङले राजकाजी गुरुङलाई यस क्षेत्रको निकै प्रभावशाली नेतृत्वको रूपमा चित्रण गर्नुभयो। “हाम्रो विचार सही छ र देशको विकासमा नेकपाको ठुलो हात छ, फागुन २१ को निर्वाचनमा राजकाजीको जितले यस क्षेत्रको मुहार फेर्नेछ,” उहाँले भन्नुभयो।
​नेकपाका निर्वाचन अनुगमन समितिका संयोजक दिपक कोइरालाले यो सामान्य चुनाव नभएर लडेर ल्याएको व्यवस्था जोगाउने चुनाव भएको बताउनुभयो। संघीयता, धर्मनिरपेक्षता र समानुपातिक मुद्दा स्थापित गर्न नेकपाको जित अनिवार्य रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मध्यपहाडी लोकमार्ग जस्ता ठुला आयोजना प्रचण्ड नेतृत्वको सरकारकै परिकल्पना हुन्, यसलाई पूर्णता दिन पनि नेकपालाई बहुमत चाहिन्छ।”

नेकपाको समानुपातिक उम्मेदवार सोमती गुरुङले
पार्टी इतिहासको गम्भीर मोडमा रहेको भन्दै जनताको हक अधिकार सुनिश्चित गर्न नेकपा कटिबद्ध रहेको बताउनुभयो। उहाँले विगतका कमजोरीबाट पाठ सिकेर अब अवसरलाई गुम्न नदिने र जनताको अवस्था सुधार्न लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
​नेकपाको समानुपातिक उम्मेदवार दिलु कुमारी पन्तले नेकपा ‘मिसन ८४’ को पर्खाइमा नभई ‘मिसन ८२’ मै चुनावमा होमिएको बताउनुभयो। कांग्रेस र एमालेको खराब कार्यशैली र मनपरीतन्त्रले देशको हालत बिगारेको र ‘जेनजी’ पुस्ताको असन्तुष्टि त्यसैको परिणाम भएको उहाँको तर्क थियो।
​एमालेमा पहिरो: ८० घर परिवार नेकपामा समाहित
​कार्यालय उद्घाटनकै अवसरमा एमालेका सक्रिय नेता रणबहादुर विश्वकर्मासहित ५३ जना नेकपामा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्दै विश्वकर्माले आफूसहित विश्वकर्मा समाजका ८० घर परिवार नै नेकपामा समाहित भएको घोषणा गर्नुभयो।
​”देश बदल्ने र जेनजीको माग सम्बोधन गर्ने पार्टी नेकपा मात्र देख्यौँ,” विश्वकर्माले भन्नुभयो, “हामी दलितको मुक्तिका लागि लडेको पार्टी पनि तत्कालीन माओवादी र अहिलेको नेकपा नै भएकाले हामी सबै सामूहिक रूपमा समाहित भएका हौँ।”

​कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि श्रीनाथ बरालले एमाले परित्याग गरी आउनेहरूलाई स्वागत गर्दै निर्वाचन सफल बनाउन सबैलाई आ-आफ्नो ठाउँबाट जुट्न आह्वान गर्नुभयो। त्यसैगरी स्वागत मन्तव्यका क्रममा चन्द्रा पराजुलीले २० वर्षदेखि ब्यालेटको लडाइँ लड्दै गर्दा मुस्लिम समुदायका महिलाहरू बुर्काबाट निस्किएर राजनीतिक नेतृत्वमा आउनु गौरवको कुरा भएको बताउनुभयो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link