काठमाडौं, जेठ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैलीप्रति असन्तुष्टि तीव्र बन्दै गएको छ। पार्टी नेतृत्व तहमै उनीमाथि “एकल निर्णय शैली” अपनाएको र सहकार्यात्मक राजनीतिक संस्कार कमजोर पारेको आरोप खुलेर उठ्न थालेको छ।
स्रोतका अनुसार बालेनले सरकार सञ्चालनमा पार्टी, मन्त्री र संसदीय संरचनासँग पर्याप्त समन्वय नगरेको भन्दै सभापति रवि लामिछाने गम्भीर रूपमा असन्तुष्ट बनेका छन्। निर्णय प्रक्रियामा संवादको अभाव र सीमित सल्लाहकार घेरामार्फत नीति अघि बढाइएको आरोपले पार्टीभित्र असहजता बढाएको बताइन्छ।
हालै संसद्मा सीमा संवेदनशीलतासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर पनि पार्टीभित्र आलोचना चर्किएको छ। कूटनीतिक रूपमा संवेदनशील विषयमा दिइएको भनाइले अनावश्यक विवाद सिर्जना गरेको र त्यसको राजनीतिक असर पार्टीले नै व्यहोर्नु परेको नेताहरूको बुझाइ छ।
पार्टीभित्रका सांसद तथा मन्त्रीहरूले नीति, बजेट र प्रशासनिक प्राथमिकताबारे पर्याप्त छलफल नभएको गुनासो दोहोरर्याउँदै आएका छन्। उनीहरूले प्रधानमन्त्रीको कार्यशैली “मेयरकालीन मानसिकता” बाट बाहिर ननिस्किएको टिप्पणीसमेत गर्न थालेका छन्।
सभापति लामिछानेले अबको केही समयभित्र सरकारको कार्यसम्पादन, कूटनीतिक सन्तुलन र आन्तरिक समन्वयको मूल्यांकन गर्ने तयारी गरेका छन्। सुधार नदेखिए पार्टीभित्र सरकारको संरचना र नेतृत्वबारे कठोर समीक्षा हुन सक्ने संकेतसमेत देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपाभित्र देखिएको यो तनाव तत्काल सतहमा विस्फोट नभए पनि दीर्घकालीन रूपमा सरकार–पार्टी सम्बन्धमा गम्भीर दरार ल्याउन सक्ने जोखिम बढ्दै गएको छ।




