Skip to content
Pokharapress Logo
९ भाद्र २०८३, मंगलवार

पालुङटार नगरपालिकाको खरिद योजना तर्जुमा गोष्ठी तथा कार्यसम्पादन सम्झौता कार्यक्रम सम्पन्न

loading views..
Nepal Telcome

गोरखा, ९ भदौ। पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को विकास निर्माण तथा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउने उद्देश्यसहित खरिद योजना तर्जुमा गोष्ठी तथा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न गरेको छ।

कृषि विकास तथा पशु सेवा शाखाको सभाहल, बाह्रपिर्केमा आयोजित कार्यक्रममा नगर प्रमुख विवस चिन्तन, उपप्रमुख वन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर वि.सी., वडा अध्यक्षहरू, शाखा प्रमुखहरू, वडा सचिवहरू तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सार्वजनिक खरिदलाई वार्षिक योजना तथा बजेटसँग आबद्ध गर्दै समयमै खरिद प्रक्रिया अगाडि बढाउने, अनावश्यक ढिलाइ न्यूनीकरण गर्ने, प्रतिस्पर्धात्मक र पारदर्शी खरिद प्रणालीलाई प्रवर्द्धन गर्ने तथा विकास आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। खरिद योजना तर्जुमाले स्रोत–साधनको उचित उपयोग, वित्तीय अनुशासन कायम गर्न तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।

त्यसैगरी, शाखा प्रमुखहरूसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै प्रत्येक शाखाको जिम्मेवारी, लक्ष्य, सूचक र समयसीमा स्पष्ट गरिएको छ। कार्यसम्पादन सम्झौताले कर्मचारीमा जिम्मेवारीबोध, उत्तरदायित्व, नतिजामुखी कार्यसंस्कृति, कार्यसम्पादनको नियमित मूल्याङ्कन तथा जनताप्रति जवाफदेहिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ। यसले संस्थागत सुशासनलाई सुदृढ गर्दै नगरपालिकाको समग्र कार्यसम्पादनमा गुणात्मक सुधार ल्याउने विश्वास लिइएको छ।

कार्यक्रममा नगर प्रमुख विवस चिन्तनले योजनाबद्ध कार्यप्रणाली, पारदर्शिता र समयमै लक्ष्य हासिल गर्नु नै सफल स्थानीय शासनको आधार भएको उल्लेख गर्दै सबै कर्मचारीलाई उच्च जिम्मेवारीका साथ कार्यसम्पादन गर्न आग्रह गर्नुभयो। उपप्रमुख वन्दना पाण्डेले समन्वय, अनुशासन र उत्तरदायी कार्यशैलीमार्फत नागरिकले गुणस्तरीय सेवा प्राप्त गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर वि.सी.ले कार्यसम्पादन सम्झौताले कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै संस्थागत उत्तरदायित्वलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमले आर्थिक वर्ष २०८३/८४ का योजना तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, सुशासन प्रवर्द्धन र गुणस्तरीय सार्वजनिक सेवा प्रवाहका लागि महत्वपूर्ण आधार तयार गरेको नगरपालिकाले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link