जुम्ला, १६ असोज ।आसन्न दसैँ, तिहारलगायत प्रमुख चाडपर्वहरूलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा पर्याप्त परिमाणमा नुन मौज्दात राखिएको छ। चाडपर्वको समयमा जिल्लामा नुनको कुनै पनि अभाव हुन नदिन हाल एक हजार ४९ क्विन्टल नुन मौज्दात राखिएको कार्यालयले जनाएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लाका प्रमुख मुनीदत्त बुढाका अनुसार चाडपर्वमा उपभोक्तालाई सहज रूपमा नुन उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। यसअघि डिपोमा कूल एक हजार ८१७ क्विन्टल नुन मौज्दात रहेकोमा चालु आर्थिक वर्षको असोज १४ गतेसम्म ७६८ क्विन्टल बिक्री भइसकेको छ। हाल डिपोमा एक हजार ४९ क्विन्टल नुन बाँकी रहेको प्रमुख बुढाले जानकारी दिनुभयो।
जिल्लामा सिञ्जाको नराकोट डिपोमार्फत हिमा र सिञ्जा गाउँपालिका तथा गुठीचौर डिपोमार्फत कनकासुन्दरी गाउँपालिकाका बासिन्दालाई नुन वितरण गरिँदै आइएको छ। चालु आर्थिक वर्षका लागि जुम्ला सदरमुकाम खलङ्गासहित तीनवटै डिपोका लागि केन्द्रीय कार्यालयबाट कोटा निर्धारण भइनसके पनि आवश्यकताअनुसार सदरमुकामबाटै नराकोट र गुठीचौर डिपोमा नुन पठाउने गरिएको छ।
चाडपर्व अवधिभर जिल्लामा नुनको अभाव हुन नदिन नेपालगन्जबाट थप नुन माग गरिसकिएको कार्यालयले जनाएको छ। पछिल्लो समय स्थानीय तहहरूले समेत सदरमुकामस्थित डिपोबाट नुन खरिद गरी वडा तहमार्फत नै नागरिकलाई वितरण गर्ने व्यवस्था मिलाउँदै आएका छन्।






