पोखरा ,१८असोज।राजनीतिक दलहरूमा आर्थिक पारदर्शिताको बहस चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीले भने उदाहरणीय अभ्यासको सुरुवात गरेको छ। पोखराको शिवालयचोकस्थित पार्टी कार्यालय भवनको माथिल्लो तलामा नवनिर्मित सभाहल निर्माणमा भएको आम्दानी तथा खर्चको सम्पूर्ण फेहरिस्त सार्वजनिक गर्दै नेकपा कास्कीले नयाँ नजिर स्थापित गरेको हो।

सभाहल निर्माण र व्यवस्थापनको योजनालाई सह–संयोजक विनय थापाको दीर्घकालीन सोच र स्पष्ट भिजनले पूर्णता दिएको कार्यक्रममा जानकारी गराइयो। थापाको नेतृत्वदायी भूमिका र सक्रियताकै कारण सीमित स्रोतसाधनका बाबजुद योजनाबद्ध रूपमा हल निर्माण सम्पन्न भएको हो। यसैबीच, नेकपा कास्कीले पार्टी कार्यालयलाई अझ व्यवस्थित र सौन्दर्यकरण गर्न सबै शुभेच्छुक, समर्थक तथा कार्यकर्ताहरूमाझ सहयोगको अपिलसमेत गरेको छ।
आइतबार आयोजित विशेष कार्यक्रममा प्रस्तुत विवरण अनुसार हल निर्माणमा कुल ५ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ। नेकपा कास्कीका इन्चार्ज रामजीप्रसाद बराल (जीवन) का अनुसार कुल खर्चमध्ये ट्रसमा ३ लाख ५५ हजार, अल्मुनियममा १ लाख ७९ हजार र बत्ती तथा वायरिङतर्फ ५९ हजार रुपैयाँ खर्च भएको छ। ६० जना सहयोगी दाताहरूबाट कुल ६ लाख ४७ हजार रुपैयाँ संकलन भएकोमा खर्च कटाएर ५४ हजार रुपैयाँ बचत भएको इन्चार्ज बरालले जानकारी दिए।
पारदर्शितामा पार्टीको स्पष्ट अडान रहेको उल्लेख गर्दै इन्चार्ज बरालले भने,
पार्टीहरूमाथि आर्थिक अपारदर्शिताको प्रश्न उठिरहने सन्दर्भमा अब उप्रान्त कुनै संशय नरहोस् भनेर हामीले संकलित रकम र खर्चको यथार्थ विवरण सार्वजनिक गरेका हौं। आगामी दिनमा पनि यो परिपाटीलाई निरन्तरता दिइनेछ।”
कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा गण्डकी प्रदेशका सह–इन्चार्ज श्रीनाथ बरालले दलहरू अब पुरानै परम्परागत ढङ्गले चल्न नसक्ने बताए। उनले कास्की पार्टीले पारदर्शिता अपनाएर अन्य सबैका लागि पथप्रदर्शकको भूमिका निर्वाह गरेको भन्दै प्रशंसा व्यक्त गरे।
नेकपा कास्कीका संयोजक खड्ग हमालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सह–संयोजक विनय थापाले गरेका थिए।






