पोखरा, २० असोज । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल प्रसाद भट्टले जोखिम नबुझी सेयर बजारमा लगानी नगर्न तथा ऋण लिएर सेयर खरिद गर्ने प्रवृत्तिबाट सचेत रहन लगानीकर्तालाई आग्रह गर्नुभएको छ।
विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा सेबोनको आयोजनामा पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा आयोजित वित्तीय साक्षरता तथा पुँजी बजारसम्बन्धी उच्चस्तरीय प्यानल छलफलमा अध्यक्ष भट्टले लगानीमा सम्भावित प्रतिफलसँगै जोखिमको पनि गहिरो अध्ययन आवश्यक रहेको बताउनुभयो।
उहाँले सेयर बजारमा लगानी गर्नुअघि बजारको प्रकृति, आफ्नो आर्थिक क्षमता र जोखिम वहन गर्ने क्षमताबारे स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो।
“लगानी भनेको साबुन किने जस्तो होइन, धैर्य र जोखिम बुझ्न सक्ने क्षमता चाहिन्छ,” अध्यक्ष भट्टले भन्नुभयो, “बजारमा प्रतिफल धेरै हुन सक्छ, शून्य हुन सक्छ वा पूरै डुब्न पनि सक्छ।”
उहाँका अनुसार आम्दानीबाट उपभोगका लागि खर्च कटाएर बाँकी रकमलाई भविष्यमा प्रतिफल प्राप्त गर्ने उद्देश्यले परिचालन गर्नु नै लगानी हो। तर लगानीमा निश्चित प्रतिफलको ग्यारेन्टी नहुने भएकाले जोखिम मूल्यांकन नगरी गरिएको लगानी समस्याको कारण बन्न सक्ने उहाँको भनाइ छ।
अध्यक्ष भट्टले ‘उच्च जोखिम, उच्च प्रतिफल’ को सिद्धान्तलाई बुझेर लगानी गर्नुपर्ने बताउनुभयो। कम जोखिम चाहने लगानीकर्ताले मुद्दती निक्षेप वा सरकारी ऋणपत्रजस्ता तुलनात्मक रूपमा कम जोखिमयुक्त साधन रोज्न सक्ने उहाँले बताउनुभयो।
विशेषगरी कर्जा लिएर सेयर बजारमा प्रवेश गर्ने प्रवृत्ति अत्यन्त जोखिमपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो। बजार घटेको अवस्थामा आफ्नो बचतसँगै धितो राखिएको सम्पत्तिसमेत जोखिममा पर्न सक्ने भएकाले ऋण लिएर लगानी गर्दा विशेष सावधानी अपनाउनुपर्ने उहाँको सुझाव छ।
विगतमा लगानीकर्तालाई बजारबाट प्राप्त हुन सक्ने नाफाबारे बढी जानकारी दिइए पनि जोखिमबारे पर्याप्त सचेतना नदिइएको उल्लेख गर्दै अध्यक्ष भट्टले अब सेबोनले जोखिम साक्षरता र वित्तीय अनुशासनलाई समेत प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइरहेको जानकारी दिनुभयो।
डिजिटल भुक्तानी सुरक्षित, तर प्रयोगकर्ताको सावधानी आवश्यक
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा. राजन विक्रम थापाले नेपालको बैंकिङ तथा डिजिटल भुक्तानी पूर्वाधार विकसित मुलुकहरूको स्तरमा पुगेको बताउनुभयो।
उहाँले डिजिटल कारोबार बढ्दै जाँदा वित्तीय तथा साइबर सुरक्षाका विषयमा व्यक्तिगत सचेतना अझ महत्वपूर्ण बन्दै गएको उल्लेख गर्नुभयो।
“नेपालको डिजिटल भुक्तानी पूर्वाधार विकसित मुलुककै स्तरमा छ, तर सावधानी नअपनाए प्रविधि नै जोखिम बन्न सक्छ,” डा. थापाले भन्नुभयो।
करोडौँ बैंक खाता र दैनिक ठूलो परिमाणमा डिजिटल कारोबार हुने गरेको उल्लेख गर्दै उहाँले छिटपुट हुने साइबर ठगीका धेरै घटना प्रणालीगत कमजोरीभन्दा प्रयोगकर्ताको असावधानीसँग सम्बन्धित हुने बताउनुभयो।
उहाँले ओटीपी, पासवर्ड तथा अन्य संवेदनशील बैंकिङ विवरण कसैसँग पनि साझा नगर्न, अपरिचित कम्प्युटरमा पासवर्ड सेभ नगर्न तथा सामाजिक सञ्जाल र इमेलमार्फत आउने शंकास्पद लिंक वा फाराम नखोल्न आग्रह गर्नुभयो।
ठूलो रकम बैंक खातामा राख्ने ग्राहकले दैनिक कारोबार सीमा तोक्नुपर्ने तथा बचत खातामा लामो समय ठूलो रकम निष्क्रिय नराखी आवश्यकताअनुसार मुद्दती निक्षेपजस्ता साधन प्रयोग गर्न सकिने उहाँले सुझाव दिनुभयो।
पुँजी बजारदेखि साइबर सुरक्षासम्म विमर्श
हरिप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुँजी बजार, वित्तीय साक्षरता, बैंकिङ सुरक्षा, डिजिटल भुक्तानी तथा वित्तीय अपराध नियन्त्रणका विषयमा विस्तृत छलफल भएको थियो।
प्यानल छलफलमा डा. राजन विक्रम थापासहित कमल ढकाल, जशबहादुर गुरुङ र पोखरा उद्योग वाणिज्य संघकी प्रतिनिधि शोभा गौतमले सहभागिता जनाउनुभएको थियो।
वक्ताहरूले आधुनिक बैंकिङ प्रणालीको प्रयोग, लगानीमा नाफा र जोखिमको सन्तुलन, पुँजीको प्रभावकारी परिचालन तथा डिजिटल वित्तीय अपराधबाट जोगिन अपनाउनुपर्ने व्यवहारिक उपायबारे धारणा राख्नुभयो।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक, व्यवस्थापन संकायका सयौँ विद्यार्थी, उद्योगी–व्यवसायी तथा नयाँ लगानीकर्ताको सहभागिता रहेको थियो।
वक्ताहरूले वित्तीय साक्षरता केवल सेयर बजारमा लगानी गर्ने व्यक्तिका लागि मात्र नभई बैंकिङ तथा डिजिटल कारोबार गर्ने प्रत्येक नागरिकका लागि आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रमले विशेषगरी युवा तथा नयाँ लगानीकर्तालाई नाफाभन्दा पहिले जोखिम बुझ्न र डिजिटल कारोबारमा व्यक्तिगत सुरक्षा अपनाउन सन्देश दिएको छ।






