पोखरा,२३असोज। पोखरा महानगरपालिका–२८ कालिकास्थान नजिकै विद्यार्थी बोकेको एउटा स्कुल बस दुर्घटनामा परेको छ।
सौर्यमाझठानाबाट कालिकास्थानतर्फ कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस कालिकास्थित ओख्लेको भिरबाट करिब २०० मिटर तल खसेको हो।
दुर्घटनाको समयमा बसमा करिब २२ जना विद्यार्थी सवार रहेको बताइएको छ। घटनालगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य सुरु गरेको छ।
हालसम्म उद्धार गरिएका घाइतेमध्ये ५ जनालाई उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पताल पठाइसकिएको छ। घटनास्थलमा उद्धार कार्य जारी रहेको र दुर्घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।






