पोखरा २४ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट गगनकुमार थापा भारी मतान्तरसहित सभापति पदमा निर्वाचित भएका छन्। प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजार २०९ मतान्तरले पराजित गर्दै थापा आगामी चार वर्षका लागि पार्टीको सर्वोच्च नेतृत्वमा पुगेका हुन्।
निर्वाचन समितिका अनुसार कुल ७ हजार ३१७ मतदाता रहेकोमा ७ हजार ३९ मत खसेको थियो। जसमध्ये थापाले ६ हजार ५८४ मत (९३.८८ प्रतिशत) प्राप्त गरे भने उनका प्रतिस्पर्धी खड्गीले ३७५ मत (५.३५ प्रतिशत) मात्र पाए। निर्वाचनमा ५४ मत (०.७७ प्रतिशत) बदर भएको छ।
यसअघि गत पुसमा तत्कालीन केन्द्रीय कार्यसमितिको असहमतिबिच सम्पन्न विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा कार्यसमिति चयन भएको थियो। सोही कार्यसमितिले आयोजना गरेको १५औँ महाधिवेशनबाट थापाले पुनः पार्टीको वैधानिक नेतृत्व सम्हाल्ने जनादेश पाएका छन्।
सभापति पदको नतिजा घोषणा भएसँगै बाँकी पदाधिकारीहरूको मतगणना आज दिउँसोदेखि सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ।






