Skip to content
Pokharapress Logo
११ जेष्ठ २०८३, सोमबार

तानाशाहको भोक

loading views..
Nepal Telcome

तानाशाहको भोक !
**********

तानाशाहको भोक अजीव हुन्छ
तिर्खा अजीव हुन्छ
निद्रा अजीव हुन्छ
त्यसो त –
तानाशाहका हरेक कुरा अजीव हुन्छ !

जव जव
तानाशाहलाई भोक लाग्छ
सडकमा लासहरू देखिन थाल्छन्
जव जव
तानाशाहलाई तिर्खा लाग्छ
नदीमा पानी हैन रगत बग्न थाल्छ
तानाशाह
आफ्नो मीठो निद्रा
लासहरूको पहाडमा सुत्छ !

मनोरञ्जन लिने तरिका पनि
एकदम फरक हुन्छ तानाशाहको
तानाशाह
रोमको होस या रुसको
त्यसले खास फरक पर्दैन
जर्मनीको होस या चीनको
केही फरक पर्दैन
तानाशाह
बीसौं सदिको होस या आजको
खासै फरक पर्दैन
संसारका हरेक तानाशाह
गाउँमा आगो झोस्छन
सहरमा आगो झोस्छन
र गर्ल फ्रेण्डको अँगालोमा वाँधिएर
ती वाँसुरी बजाउन थाल्छन् !

तानाशाहको भोक
सबैभन्दा खतरनाक हुन्छ
जुन साल भोकाउँछ तानाशाह
त्यो साल घरघरमा मृत्युले देउसी खेल्छ
र तानाशाहको भोक मेटाउन
समयले जीवनको भोग माग्छ !

संसारका सबै
संभव कुराहरू खाइसकेपछि पनि
अझै अघाउँदैनन् तानाशाह
र तिनीहरूले अन्त अन्तमा
आफ्ना वरिपरिका
आफन्तहरूलाई पनि खान्छन्
र आफूलाई पनि खाइसकेपछि
बल्ल तानाशाहहरू गहिरो निद्रामा सुत्छन् !

  • २०७७|०९|०८
    भक्तपुर
tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link