काठमाण्डु। नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न बदल्ने भएको छ। १२ देखि २१ माघसम्म सञ्चालित माओवादीको स्थायी कमिटी बैठकका अध्यक्ष पुष्पकमल दाहालले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका थिए ।‘संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ’ दााहालको प्रश्तावमा भनिएको थियो।
‘मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने, पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बीचको भेदलाई आत्मसात गर्दै तत् सम्बन्धी नीति र विधिहरू तय गर्ने,’ उनले प्रस्ताव गरेका छन्, ‘तत्काल एकता सम्भव नभएका वामपन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने ।’
दाहालले आधारभूत जनता र वर्गसँग सम्बन्ध टाढिँदा माओवादी खुम्चिँदै गएको पनि स्वीकारेका छन् । प्रस्तावमा दाहालले २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा ३१ लाखभन्दा बढी मत पाएको माओवादी २०७९ सालमा ११ लाख ७५ हजारमा खुम्चँदै काठमाडौं उपत्यकामा निल हुनुको कारण खोतल्ने प्रयास गरेका छन् ।
पार्टीका नेताहरूले आफ्नो हैसियत र जिम्मेवारी प्रचारका लागि प्रयोग गरेपनि पार्टीको परिणामका लागि काम नगरेको उनको आरोप थियो। दाहालको यो प्रस्ताव माओवादी स्थायी समिति बैठकले पास गरेपछि माओवादी अब नाम र चुनाव चिह्न फेर्ने निर्णयमा पुगेको छ । #नेपाल आजबाट
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.