Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

घनश्याम ढकालका विविध आयामबारे पोखरामा विचारगोष्ठी सम्पन्न

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। प्रगतिवादी साहित्यकार घनश्याम ढकालका विविध सिर्जनात्मक आयामबारे पोखरामा हिजो शनिबार विचार गोष्ठी सम्पन्न भएको छ।

गण्डकी साहित्य सङ्गम, पोखरा र घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मार्क्सवादी समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईं, प्रगतिवादी कवि तथा समालोचक डा. अमर गिरी, समालोचक डा. कृष्णराज अधिकारी, कवि कल्पना चिलुवाल लगायतले घनश्याम ढकालको संस्कृति-चिन्तन, सौन्दर्य चिन्तन, आख्यान लेखन र जीवनी-व्यक्तित्वबारे चर्चा गरेका थिए।

सौन्दर्यचिन्तक चापागाईंले ढकालका फुटकर निबन्ध, लेख र अन्तर्वार्ताहरूमा व्यक्त संस्कृति-चिन्तनको सान्दर्भिकताबारे चर्चा गरेका थिए। प्रगतिवादी कवि तथा समालोचक डा. अमर गिरीले मार्क्सवादी सौन्दर्य चिन्तनका क्षेत्रमा घनश्याम ढकालले पुऱ्याएको योगदानका सम्बन्धमा टिप्पणि गरेका थिए। ढकालको आख्यान लेखन र प्रवृत्तिको विश्लेषण गर्दै समालोचक डा. कृष्णराज अधिकारीले जनयुद्धपूर्व, जनयुद्धअवधि र जनयुद्धोत्तर समयका कथामा पाइने विषेशताको पनि विवेचना गरेका थिए।सोही गोष्ठीमा कल्पना चिलुवालले ढकालको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्नुभएको थिइन्।
उक्त कार्यक्रममा सङ्गम सांस्कृतिक मञ्चका कलाकारहरू काजी गाउँले, विकास लुङ्गेली, रुपिन्द्र प्रभावी कटु लगायतले घनश्याम ढकालका गीतिरचनाहरू प्रस्तुत गरेका थिए। गायक विकास लुङ्गेलीले घनश्याम ढकालकै बारेमा तयार गरेको गीत “कमरेड घनश्याम, सम्मान तिमीलाई” भन्नेबोलको गीत सो गोष्ठीमा प्रस्तुत गरिएको थियो। त्यस्तै, “फेरि भेट हुँदैन” बोलको गीत गायक काजी गाउँलेले प्रस्तुत गरेका थिए भने “भावनाका छालहरू” गीतिसङ्ग्रहबाट कवि रुपिन्द्र प्रभावी कटुे लोकलयको गीत गाएका थिए।

विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको भवनमा रहेको घनश्याम स्मृति कक्षमा भएको गोष्ठीमा घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानका सचिव तथा कवि एवम् उपन्यासकार विष्णु भण्डारीले स्वागत मन्तव्य राखेका थिए। गण्डकी साहित्य सङ्गम, पोखराका अध्यक्ष भीम रानाभाटले गोष्ठीको सञ्चालन गरेका थिए।

कार्यक्रममा पोखरा, पर्वत, बागलुङ र स्याङ्जाका साहित्यकार, लेखक, पत्रकार एवम् साहित्यअनुरागीहरूको बाक्ल‍ो सहभागिता रहेको थियो। कथा, निबन्ध, उपन्यास, समालोचना, कविता गरी डेढ दर्जन पुस्तक लेखन तथा सम्पादन गरेका साहित्यकार ढकालको २०६८ सालमा जनयुद्ध दिवस मनाउन जाँदै गर्दा काठमाण्डुको प्रर्दर्शनीमार्गमा मोटरसाइकलको ठक्करबाट निधन भएको थियो। उनी प्रगतिशील लेखक सङ्घ, अखिल नेपाल लेखक सङ्घको तत्कालीन अध्यक्ष थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link