माघ १०, काठमाण्डौ। नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको मंगलबार बिहान निधन भएको छ । एक सय दुई वर्षीया पोखरेलको आज बिहान ४ बजे सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो ।
स्वर्गीय गोबद्र्धन शर्मा पोखरेलकी धर्मपत्नी तथा संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगको पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीहरु प्रियंवदा र सत्यम्वदाका आमा द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि योगदान रहेको थियो । उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन् ।
स्व. गोबर्धन शर्मा पोखरेलको पञ्चातले सर्वस्वहरण गरेपछि विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार भई पैदल हिँडाई पोखरा हिरासतमा लगिएको थियो । बाबु गोबर्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील थिए ।
उनी नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत थिए । तत्कालीन राणा तथा पञ्चायती शासकले पटक पटक धरपकड गर्दा पनि पोखरेलले परिवारको पालनपोषण गर्दै कांग्रेस नेतृत्वको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको स्वर्गीय गोवद्र्धन पोखरेलको संस्मरणमा उल्लेख छ ।
महिला अधिकार र सामाजिक रुपान्तरणका आन्दोलनमासमेत द्रौपदाले महिला नेतृका रुपमा महत्वपूर्ण योगदान दिएकी थिइन् ।स्वर्गीय द्रौपदा व्यास १० पोखरेलफाँटस्थित गोबर्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक थिइन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पनि स्वर्गीय पोखरेलको तनहुँको लोकतान्त्रिक इतिहासमा महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै परिवारमा समवेदना प्रकट गरेका छन् ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.