म्याग्दी। म्याग्दीको विकट धवलागिरि गाउँपालिका–४ मुदीबगरकी एकजना गर्भवतीको हिजो हेलिकोप्टरमा उद्धार गरिएको छ।गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र धवलागिरि गाउँपालिकाको समन्वयमा बगरगाउँकी तुलसा बुढाथोकीलाई उद्धार गरिएको हो।
धवलागिरि गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बिहीबार साँझ ६ बजेदेखि प्रसूति ब्यथाले लागेपछि पेटमा रहेको बच्चाको धड्कन पनि अनियमित भएकाले तत्काल ‘एयरलिफ्ट’ गरेर पोखरा लगिएको बताइन्।
‘पाठेघर खुल्न विलम्ब, रक्तचाप कम हुँदै गएको र बच्चाको धड्कन अनियमित भएको हुँदा हेलिकप्टरमा पोखरा पठाएका थियौं’, उनले भनिन्, ‘पोखराको गण्डकी अस्पतालमा अपराह्न बुढाथोकी सुरक्षितरूपमा सुत्केरी हुनुभएको छ।’आमा र बच्चाको अवस्था खतरामुक्त रहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै उनले बताइन्।यसैबिच, गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुसिला सिँखडाले हेलिकप्टरबाट उद्धार गरेर अस्पताल आउनु भएको महिलाको स्वास्थ्य अवस्था बुझ्दै उपचारमा बढी सचेत हुन चिकित्सकलाई आग्रह गर्नु भयो । सुत्केरी आमा र शिशुको अबस्थामा सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ । मन्त्री सिंखडाले विहानै ६ः०० बजे नै हेलिकोप्टरको व्यबस्थापनमा सहजीकरण गर्नु भएको थियो ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.