देश प्रतिगमनको बिरुद्ध जागिसक्यो:प्रचण्ड

देश प्रतिगमनको बिरुद्ध जागिसक्यो:प्रचण्ड

  • आइतबार, माघ १८ २०७७

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना राजा महाराजा, सामन्ती र दक्षिणपन्थीसँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि आक्रमण गरेको दाबी गरेका छन्। काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गरेर ओलीले नेपाली जनताको मुटुमा छुरा प्रहार गरेको बताए।

उनले संविधान र गणतन्त्रका रक्षाका लागि ओलीको निरंकुशताविरुद्ध एक पटक सबै मिलेर जुरमुराउनुपर्ने अवस्था आएको बताए। ‘देशका सामन्ती र बाहिरका दक्षिणपन्थीसँग मिलेर ओलीले प्रतिनिधिसभा विघटन गरेका छन्,’ प्रचण्डले भने, ‘प्रतिनिधिसभा विघटन नेपाली जनताको मुटुमाथि छुरा प्रहार जस्तै हो। ओलीको निरंकुशताविरुद्ध फेरि एक पटक जुरमुराउनुपर्ने अवस्था आएको छ।’

प्रचण्डले प्रतिनिधिसभा विघटन विरुद्ध भएको विरोध प्रदर्शनमा उत्साहप्रद सहभागिता रहेको उत्साह थपेको बताए। उनले भने, ‘सुखद कुरा के लागेको छ भने हामीले कम मेहनत गरे पनि विरोध प्रदर्शनमा उपस्थिति बृहत् छ। धनगढीमा त धनगढी पुरै ढाक्ने गरी जनताको सहभागिता भयो।’

ओलीले देशभित्रका र देश बाहिरका प्रतिक्रियावादीहरूको इसारामा नेपाली जनतालाई अपमानित गरेको प्रचण्डको भनाइ छ। ‘सबै तह तप्कामा चेतना आएको छ। ओली एक्लिएका छन्। उनका गुटका मान्छे बाहेक सिंगो देश प्रतिगमन विरुद्ध छ,’ उनले भने।

कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णयको विरोध गर्दै उनले ओली सरकार किसान विरोधी भएको आरोप लगाए। प्रचण्डले भने, ‘नेपाली किसानलाई असहाय बनाउने कार्य भएको छ। विदेशी दलाललाई पोस्ने गरी अघि ल्याइएको छ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.