टोकियो।प्रेस सेन्टर नेपाल जापान शाखाको आइतबार टोकियोमा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सन्दिप सुनारको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
अधिवेशन आयोजक समितिका संयोजक सुनारको सभापतित्वमा भएको अधिवेशनले समितिको उपाध्यक्षद्वयमा उत्तम पण्डित र कान्ता गिरी, सचिवमा जनदिशा दैनिकका पत्रकार बिनोद ढकाल, कोषाध्यक्षमा बिमन किराँती, सहसचिवमा कुमारी बुढा मगर चयन भएका छन् । यसैगरी सदस्यहरुमा सञ्जय देवकोटा, कृष्ण गुरुङ, मनिष खनाल, मुकेश पनेरु, अशोक दवाडी, अमर लामा, अरुण राई, सुबिन न्यौपाने र अनुपम खड्का निर्वाचित हुनुभएको छ।
अधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले समाज रुपान्तरणमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने विचार ब्यक्त गर्नुभयो। त्यसका लागि पत्रकारहरुले सँधै रचनात्मक र सकारात्मक समाचार सम्प्रेषणमा कलम चलाउनुपर्नेमा जोड दिनुपर्ने बताउनु भयो । राजदूत डा. सुबेदीले सञ्चार जगत नेपाली समुदाय र राजदूतावासबीचको अनि घरदेश र परदेशबीचको पुल बन्न सक्नुपर्नेमा जोड दिनुभयो । अधिवेशनको उदघाटन सत्रमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटाले भर्च्युअल सम्बोधन गर्दै प्रेस सेन्टर नेपालले निकट भविष्यमै पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि डिजिटल प्रशिक्षण कार्यक्रम सुरु गर्न लागेको बताउनुभयो। उहाँले वैचारिक चिन्तनका हिसाबले कुनै दल विशेषसँग निकट भएता पनि पत्रकारिताको धर्मबाट कुनै पनि पत्रकारहरु विचलित हुन नहुने विचार ब्यक्त गर्नुभययो यसैगरी प्रेस सेन्टर नेपाल प्रवास प्रदेश समितिका उपाध्यक्ष तिलक मल्लले नागरिकमा सूचनाको हक र पहुँच बिस्तार गर्दै शान्ति, समृद्धि र अग्रगमनका लागि जनपक्षिय पत्रकारितामा जोड दिन प्रेस सेन्टरको जापान शाखाको गठन गर्नुपरेको बताउनु भयो। पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त पहारीले पत्रकारहरुको हक, हित र दक्षता अभिबृद्धि एवं पत्रकारहरुको जायज मुद्दाको पक्षमा प्रेस सेन्टरसँग महासंघले सँधै सहकार्य गर्दै अगाडि बढ्ने धारणा ब्यक्त गर्नुभयो।अधिवेशन समारोहमा नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेल, प्रवास समन्वय समितिका सदस्यद्वय डा. भूपालमान श्रेष्ठ र भवानी पन्त, एनआरएनए जापानका उपाध्यक्ष सुभाष लामिछाने, गल्कोट समाजकी अध्यक्ष कालिका थापा, नेपाली जनप्रगतिशील मञ्चका वरिष्ठ उपाध्यक्ष श्यामहरि पाण्डे, पत्रकार गोकर्ण अधिकारी, नेपाली जनप्रगतिशील मञ्च जापान कान्तो क्षेत्रीय कमिटीका अध्यक्ष सुनिल देवकोटा, क्षेत्रीय कमिटी नागोयाका अध्यक्ष रञ्जित गौतम लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । बोल्ने वक्ताहरुले पत्रकारहरुले सत्य, तथ्यमा आधारित सूचना संप्रेषण गर्नुपर्ने धारणा ब्यक्त गर्दै पत्रकारहरु बहकाउबाजी र कसैको स्वार्थमा उपयोग हुन नहुनेमा जोड दिनुभएको थियो।
प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशनको प्रमुख अतिथि राजदुत डा. सुबेदी लगायत अन्य विशेष अतिथिहरुले ब्यानर खोलेर संयुक्तरुपमा उदघाटन गरेका थिए । कार्यक्रममा अधिवेशन आयोजक समितिका उपसंयोजक बिनोद ढकालको स्वागत मन्तब्य रहेको थियो भने समितिका सदस्य बिमन किरातीको सञ्चालन रहेको थियो ।