पीडितसँग प्रहरीले माग्यो उजुरी

पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचतकर्ताको डेढ अर्ब हिनामिना

पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचतकर्ताको डेढ अर्ब हिनामिना

ठगीमा संलग्न ८ जना पक्राउ

पोखरा, १ जेठ । पोखराको गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचतकर्ताको डेढ अर्ब रुपैयाँभन्दा बढीको हिनामिना भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा बचत कर्ताले जाहेरी हालेका छन्।
गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले प्राइम सहकारीमा २ हजार ३ सय बचतकर्ताको १ अर्ब चौवन्न करोड १५ लाख ८ हजार १ सय ४२ रुपैयाँ अपचलन तथा हिनामिना भएको भन्दै अनुसन्धानको माग दाबी गर्दै प्रहरीलाई मंगलबार प्रतिवेदन बुझाएको हो । उक्त जाहेरीको आधारमा प्रहरीले सहकारी ठगीमा संलग्न भएको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, सञ्चालक समिति अध्यक्ष शंकर कार्की, सहकारी व्यवस्थापक निरु थापा केसी, कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष कुलदिप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङ रहेका छन् । उनीहरुलाई सहकारी ऐन, २०७४ बमोजिम थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक एवं कास्की प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए ।

सहकारीमा समस्या देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले निक्षेपकर्ताहरुलाई उजुरी दिन मंगलबार नै सूचनासमेत जारी गरेको छ । ‘बचत फिर्ता नगरी सहकारीको रकम हिनामिना एवं ठगी गरेको देखिएकोले अनुसन्धानका लागि सहकारी रजिस्ट्रारको कार्यालयबाट पत्रसाथ कागजातहरू प्राप्त भएको छ,’ प्रहरीले भनेको छ, ‘उक्त पत्र दर्ता भई अनुसन्धानका क्रममा रहेकोले उक्त सहकारी संस्थामा बचतकर्ता रही बचत तथा शेयर रकम फिर्ता नपाउनु भएका पीडित व्यक्तिहरूले प्रमाणसहित सम्पर्क राख्नुहुन अनुरोध छ ।’
प्रमाण खुल्ने शेयरधनी प्रमाणपत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्रलगायत प्रमाण पेस गर्न प्रहरीले आग्रह गरेको छ । जेठ २० गतेभित्र उजुरी दिन आग्रह गरिएको प्रहरी प्रवक्ता शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.