आजको बन्द हड्तालका कमाण्डर को कता तोकिए!

आजको बन्द हड्तालका कमाण्डर को कता तोकिए!

  • बिहिबार, माघ २२ २०७७

काठमाडौं। नेकपाले आजको घोषित आम हड्ताल कार्यान्वयन गराउन राजधानीका ११ प्रमुख स्थानका लागि कमान्डर तोकेको छ।

पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको पार्टीले स्थायी समितिका सदस्यहरुलाई हड्तालका कमान्डर तोकेको हो। बिहानैदेखि सुरु हुने आम हड्तालमा विद्यालय, यातायात, उद्योग, कलकारखाना सबै बन्द गराउने सो पार्टीले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइसकेको छ।

त्यसैका लागि काठमाडौंका ११ स्थानमा कमान्डर तोकिएका हुन्। जसअनुसार कलङ्की चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल र सातदोबाटोमा देव गुरुङ कमान्डर तोकिएका छन्।त्यस्तै, पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लीलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपालचोक महाराजगञ्जमा शक्ति बस्नेत तोकिएका छन्।

गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्नपार्कमा प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जनार्दन शर्माले कमान्ड समाल्ने नेकपाले जनाएको छ। प्रतिनिधि सभा विघटनविरुद्ध केन्द्रीय संघर्ष समितिले सो कार्यक्रम राखेको हो। बुधबार आकस्मिक रुपमा पत्राकार सम्मेलन गरेर सो देशव्यापी राजनीतिक हड्तालको घोषणा गरको हो ।

यसैबिच देशभर आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले सरकारी गुण्डाराज अन्त्य गर्नका लागि संघर्ष गर्नुपर्ने बताए। संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा भोलि आम हड्तान गर्नुपर्ने अवस्था सिर्जना भएको नेता श्रेष्ठले बताए। लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध सरकार अघि बढेको उनको आरोप छ। ओली सरकारविरुद्ध सशक्त आन्दोलन विकल्प नरहेको प्रवक्ता श्रेष्ठले बताए।

नेकपा नेतृ पम्फा भुसालले नयाँ बाध्यतात्मक परिस्थिति आएकाले संघर्षका नयाँ कार्यक्रम घोषणा गर्नु परेको बताइन्। ‘बिहान मिर्मिरेमै संवैधानिक निकायका पदाधिकारीलाई सपथ खुवाएको नाटक भयो। असंवैधानिक रूपमा सुनुवाइ नगरी सपथ गराइनु निरंकुशता र जबरजस्तीको पराकाष्ठा हो,’ भुसालले भनिन्,‘संविधान र लोकतन्त्रको रक्षा र फासिस्ट जंगलराजको अन्त्य गर्न जरूरी छ। हामी संवैधानिक आयोगको सपथ खारेजीको माग गर्छौं। भोलि देशव्यापी आमहडतालको आह्वान गरेका छौं।’

उनका अनुसार आज अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै कुरा बन्द गरिने बताइन्। उनले पार्टीले अब प्रतिगमन विरूद्ध जुनसुकै कमद चाल्ने पनि उल्लेख गरिन्। ‘हामी अब प्रतिगमनको खारेजीका लागि जस्तोसुकै कदम चाल्न बाध्य हुन्छौं। यसका लागि सबैसँग सहयोगको अपेक्षा गरेका छौं,’ भुसालले भनिन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.