काठमाडौं । सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठक निचोडमा पुगेको छ । मंगलबार बिहान बस्ने बैठकले कार्यादेशलाई अन्तिम रूप दिने र मंगलबारबाटै संसदको गतिरोध अन्त्य हुने उनीहरूले सहमति गरका छन । यसअघि संसदीय छानबिन समिति गठनबारे सैद्धान्तिक सहमति जुटे पनि कार्यादेशमा कुरा मिलेको थिएन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको भन्दै नाम तोकेर समिति बनाउनुपर्ने अडान राख्दै आएको छ। सत्तापक्ष भने समिति बन्नुअगावै व्यक्तिलाई दोषी किटान हुने गरी नाम उल्लेख गर्न नहुने अडानमा छ। यो विवादले संसदको गतिरोध जारी छ। यही गतिरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूको बैठक बसेको हो।
सोमबार राति अबेर सकिएको बैठकले कार्यादेशमा गृहमन्त्री लामिछानेको नाम किटान नगरे पनि रकम हिनामिना गरिएका सुप्रिम, सूर्यदर्शन, सहारा लगायतका सहकारी र लामिछाने आबद्ध गोरखा मिडियाको नाम उल्लेख गर्नेबारे लगभग सहमति भएको एक कांग्रेस नेताले बताए। संसदीय छानबिन समितिमा कांग्रेस र एमालेका २,२ जनाः माओवादी, रास्वपा र राप्रपाका १(१ जना गरी ७ सदस्य रहनेबारे पनि छलफल भएको उनले जानकारी दिए। समितिलाई छानबिन टुंगो लगाउन करिब तीन महिना समय दिने कुरा भइरहेको छ। बैठकमा सहभागी नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बालुवाटार बैठक निष्कर्ष उन्मुख हुँदै समापन भएको बताए। मंगलबार ११ बजे बस्ने कार्यदल बैठकले छानबिन समितिको कार्यादेश टुंगो लगाउने उनले जानकारी दिए। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि बैठक सकारात्मक भएको र मंगलबारको कार्यदल बैठकले कार्यादेशलाई अन्तिम रूप दिने बताए। बैठकमा प्रधानमन्त्री प्रचण्डसहित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दलका नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए। त्यस्तै कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की र कार्यदलका सदस्य जीवन परियार पनि थिए। नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, कानुनमन्त्री पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार लगायत सहभागी थिए।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.