Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट

loading views..

जेठ,२८काठमाडौँ। भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी उहाँहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएको थियो । सपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी मोदीबीच भेटवार्ता भएको थियो ।

सो भेटमा प्रधानमन्त्रीले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा प्रधानमन्त्री मोदीलाई बधाइ दिँदै उहाँको आगामी कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आइतबार साँझ नै राष्ट्रपति मुर्मुले आयोजना गर्नुभएको रात्रीभोजमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्