पोखरा,१६ असार । फ्लोर क्रसको घटनाले कारबाहीमा परेर पनि सर्वोच्चको अन्तरिम आदेशपछि संसद फर्किएका नेपाल समाजवादी पार्टीका प्रदेश सांसद फणीन्द्र देवकोटा सरकारमा सामेल हुने भएका छन् । उनलाई आज पुन: शपथको तयारी गरिएको हो ।
देवकोटाले जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीले सांसदबाटै निष्कासन गरेको थियो । तर उनी उक्त निर्णयको विरुद्ध सर्वोच्च गएका थिए ।
सर्वोच्चले देवकोटाको पार्टी नेपाल समाजवादी नै उल्लेख भएकोले माओवादीले कारबाही गर्न नसक्ने भन्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्म सांसदकै रूपमा कामकाज गर्ने गरी अन्तरिम आदेश दिएको थियो ।
देवकोटा यसअघि जेठ २९ गते ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका थिए । आज सोही मन्त्रालयमा दोहोरिन लागेका हुन् ।
७ सदस्यीय मन्त्रीमण्डल रहेको गण्डकीमा हालसम्म ४ जना मात्रै मन्त्री छन् । कांग्रेसका ३ र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्रीका रूपमा कार्यरत छन् ।