Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

अजिरकोट गाउँपालिकाकामा ६ सय दलित तथा विपन्न घरपरिवारको निशुल्क स्वास्थ्य बीमा

loading views..

गोरखा। अजिरकोट गाउँपालिकाले पालिका भित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा कार्य सुरु गरेको छ । चालु आर्थिक बर्ष २०८१/०८२ को स्विकृत बार्षिक नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट बिनियोजन गरी पालिका भित्रका सवै विपन्न र दलित घरपरिवारको निशुल्क स्वास्थ्य बीमा सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।

‘‘स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दलित तथा विपन्न घरपरिवारमा सहज स्वास्थ्य उपचार सेवा पुर्‍याउन पालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने कार्यक्रम अगाडी बढाएको हो, उहाँले भन्नुभयो, ‘‘यसबाट पालिका भित्रका करिब ६ सय दलित तथा विपन्न घरपरिवार लाभान्वित हुनेछन् ।’’ स्वास्थ्य बीमा गराउन सवै वडामा एक–एक जना बीमा दर्ता सहयोगी परिचालिका परिचालन गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर १ र २ मा निशुल्क स्वास्थ्य बीमा गराउने कार्यक्रम सुरु भइसकेको र अन्य वडामा केहीदिन भित्रै कार्यक्रम सुरु हुने उहाँले बताउनुभयो । गाउँपालिकाले दलित घरपरिवारमध्ये रोजगारीमा रहेका वा सार्वजनिक पद धारण गरेका व्यक्तिका परिवारले भने आफैले बीमा बापतको रकम बुझाएर अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका एवं सामान्यदेखि जटिल स्वास्थ्य समस्यामा परेका समुदायका नागरिकहरुमा सहज स्वास्थ्य सुविधाको पहुँच बिस्तार गर्न पालिकाले निशुल्क बीमा कार्यक्रम ल्याएको हो । गाउँपालिकाले संविधानमा उल्लेख गरिएको नागरिकको स्वास्थ्य उपचारको मौलिक हक कार्यान्वयन गर्न निशुल्क बीमा कार्यक्रमको थालनी गरेको अध्यक्ष देवकोटाले बताउनुभयो ।

‘‘आफैले बीमा गर्न नसक्ने अवस्थामा रहेका सवै विपन्न तथा दलित घरपरिवारको गाउँपालिकाले निशुल्क स्वास्थ्य बीमा गरिदिनेछ, उहाँले भन्नुभयो, ‘‘यो कार्यक्रम पूर्णरुपमा कार्यान्वयन भएपछि आर्थिक अवस्था कमजोर भएका अजिरकोट गाउँपालिका भित्रका कोहीपनि दलित तथा विपन्न समुदायका नागरिकहरु अव स्वास्थ्य उपचार सेवाबाट बिमुख हुनुपर्ने छैन्।’’

गाउँपालिकाले निशुल्क बीमा गरिदिन सुरु गरेपछि लक्षित समुदायका घरपरिवार पनि खुशी भएका छन् । विपन्न एवं दलित घरपरिवारलाई स्वास्थ्य निशुल्क स्वास्थ्य बीमामा आवद्ध गराउन गाउँपालिकाले मुटु फाउण्डेसनसँग पनि सहकार्य गरेको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्