कास्की।पोखरा महानगरपालिका भित्र सञ्चालित सार्वजनिक यातायातको प्रदूषण जाँच सुरुआत गरिएको छ । यातायात व्यवस्था कार्यालयले पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालित बसहरूको प्रदूषण परीक्षण गरेको हो ।
मापदण्ड भन्दा बाहिर रहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सवारी साधनहरूको प्रदूषण जाँच सुरु गरिएको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख अशोक गौतमले जानकारी दिए । उनका अनुसार अन्य दिनमा प्रदूषण परीक्षका लागि भीडभाड हुने भएकाले सार्वजनिक बिदाका दिनमा समेत सेवा सञ्चालन गरिएको हो ।
पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालनमा रहेका तीन सय ७८ बसको प्रदूषण परीक्षण गरिने कार्यालयले जनाएको छ । प्रदूषण परीक्षणमा अनुत्तीर्ण सवारीहरुलाई पुनः मर्मतका लागि पठाइने र उत्तीर्ण भएपछि मात्र सञ्चालन अनुमति प्रदान गरिने कार्यालय प्रमुख गौतमले बताए ।
‘पोखरा पर्यटकीय राजधानी समेत हो । यहाँ गाडीबाट निस्कने धुँवा बढी हुने गरेको स्थानीयवासीको गुनासो आएपछि कडाइका साथ जाँच गर्न लागेका हौँ । शनिबार पोखरा यातायात प्रालिका बसहरुको यान्त्रिक परीक्षण र प्रदूषण जाँचपासको काम गरेका छौँ । आगामी दिनमा निजी विद्यालयद्वारा सञ्चालित बसहरुको समेत परीक्षण गछौँ ।’ कार्यालय प्रमुख गौतमले भने ।
जाँचपास गर्दा बढी प्रदूषण देखाएका गाडीलाई तत्काल मर्मत र सर्भिसिङका लागि पठाउने गरिएको कार्यालयका मेकानिकल इन्जिनियर अब्दुल्ला हवारीले बताए।
बसहरुको सर्भिसिङपछि बसको अनुत्तीर्ण हुने दर कम भएको उनले बताए। कार्यालयले प्रदूषण बढी भएका तथा जाँच अनुत्तीर्ण भएका गाडी सञ्चालनमा रोक लगाउने जनाएको छ ।इन्जिनियर हवारीका अनुसार परीक्षण मेसिनले गाडीको धुँवाको ‘डेन्सिटी’ हेर्ने र ३० प्रतिशत सम्म आउने उत्तीर्ण र त्यो भन्दा बढी आउने अनुत्तीर्ण हुने जानकारी दिए।
‘परीक्षणको नतिजा तत्कालै प्राप्त हुने गरेको छ । बढी प्रदूषण देखाएर फेल भएका गाडी सञ्चालन गरे यातायात व्यवस्था ऐन अनुसार दुई हजारदेखी १० हजारसम्म कारवाही हुन्छ ।’ उनले भने।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.