ओली एण्ड कम्पनीको पतन निश्चत छ:उपेन्द्र यादव

ओली एण्ड कम्पनीको पतन निश्चत छ:उपेन्द्र यादव

  • बिहिबार, माघ २९ २०७७

राजविराज ।  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान उल्लंघन गरेको कसुरमा जेल हाल्नुपर्ने बताएका छन्। ‘कसैले ऐन कानुन उल्लंघन गरेमा कारबाही गरिने व्यवस्था अनुरुप देशको मूल कानुन उल्लंघन गरिी प्रतिनिधिसभा विघटन गरेका ओलीलाई जेल हाल्नु पर्छ,’ यादवले भने,‘ओली एण्ड कम्पनीको पतन निश्चत छ।’

सप्तरीको महदेवा गाउँपालिकाको डाढामा बुधबार आयोजित विरोध सभालाई सम्बोधन गर्दे अध्यक्ष यादवले पतन उन्मुख शासकले चुनाव नगराउने जिकिर गर्दै निर्वाचन आयोगले समेत तमासा गरिरहेको आरोप लगाए। ‘निर्वाचन आयोग पनि सेटिङमा छ,तमासा बनाइरहेको छ,’ यादवले भने,‘लोकतन्त्रलाई नै समाप्त पार्ने सेटिङविरुद्ध जनसेटिङका माध्यमले जनसंघर्ष गरी लोकतन्त्र,गणतन्त्र र संघियतालाई जोगाउनुपर्छ।’

विपक्षीको विरुद्धमा सतापक्षको र्‍याली निकाल्ने कार्य संसारमा कही नदेखिएको बताउँदै उनले सरकारी खर्चबाट सत्तापक्षले र्‍याली र सभा गरिरहेको अध्यक्ष यादवले आरोप लगाए। ‘लोकतन्त्रको हत्यापछि निर्वाचनको महत्व रहँदैन,’ उनले भने, ‘प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेका छन्।’ साविकका निरंकुशतावादी र ओलीको साँठगाँठ रहेको आरोप लगाउँदै यादवले प्रधानमन्त्री ओली संकटकाल र सैनिक शासन लगाउने प्रयत्‍न गरिरहेको दाबी गरे।

‘जनता सडकमा छन्,सरकार आन्दोलन थेग्न नसके संकटकाल र सैनिक शासन लगाउने सोचमा छ,’ यादवले भने, ‘तर अधिनायकवाद र निरंकुशताकाविरुद्ध जनसंघर्षले ओलीलाई पतनको बाटो देखाउनेछ।’ प्रतिनिधिसभा भंग गरी काम चलाउ बनेको सरकारले विभिन्न संवैधानिक निकायमा नियुक्ती,कर्मचारी सरुवा र सरकारी कोषमा मनलागि खर्च गरिरहेको उनले आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.