Skip to content
Pokharapress Logo
१० असार २०८३, बुधबार

सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान

loading views..
Nepal Telcome
पोखरा, १७ असोज। गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान २०८१ प्रदान गरिएको छ ।गीतकार प्रतिष्ठान, नेपालले बिहीबार पोखरामा आयोजना गरेको आफ्नो चौथो साधारण सभाका अवसरमा सरूलाई नगद ५ हजार ५५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान प्रदान गरेको हो । सरूलाई कवि तथा गीतकार रमेश श्रेष्ठ, हरिदेवी कोइराला र संस्थाका अध्यक्ष शीतल गिरीले सम्मान गरे ।
लमजुङमा जन्मेर पचासको दशकको सुरुदेखि नै पोखरालाई कर्मथलो बनाएर साहित्यिक क्षेत्रमा क्रियाशील सरूको प्रकाशन यात्रा २०४९ मा गीतबाटै भएको थियो । आफ्नो पहिलो कृति पनि ‘थुँगा थुँगा जिन्दगानी’ नामक गीत सङ्ग्रह प्रकाशन गरी सुरु गरेकी सरूको त्यसपछि ‘एक झुल्को घाम ओर्लेर सडकमा’ र ‘फूलहरूको आँधी’ गरी दुई कविता सङ्ग्रह र ‘किट्टी’ नामक बालकथा सङ्ग्रह प्रकाशित छन् । आफू लमजुङ हुँदै साहित्यिक लेखन सुरुवात गरे पनि पोखराले आफूलाई विशेष पहिचान दिएको सरूले बताइन् । गीतका क्षेत्रमा आफू लामो समयदेखि लागे पनि रेकर्ड भएका गीतको सङ्ख्या कम भएको बताउँदै उनले गीत लेखन आफ्नो मुख्य जिम्मेवारी भएको बताइन् । सम्मानले आफूलाई गीति क्षेत्रमा केही गर्नका लागि थप हौसला दिएको भन्दै गीतकारहरूको हकहितका लागि पोखराका अग्रज गीतकारहरूले देखेको सपना गीतकार प्रतिष्ठानले पूरा गरेको सरूको धारणा थियो ।
कार्यक्रमका प्रमुख अतिथि गीतकार रमेश श्रेष्ठले गीतकारको पहिचानका लागि सबै लागिपर्नुपर्नेमा जोड दिए । उनले सरस्वती जस्तो एक योग्य प्रतिभालाई सम्मान गरेर गीतकार प्रतिष्ठान स्वयम् सम्मानित भएको धारणा राखे ।
लोकगायिका हरिदेवी कोइरालाले सरूको लेखनमा भएको सरलता र व्यवहारमा भएको हार्दिकताबाट आफू प्रभावित भएको बताइन् । उनले सरूको लेखनले पोखरेली साहित्यिक क्षेत्रमा निकै महŒवपूर्ण योगदान गरेको धारणा राखिन् ।
प्रतिष्ठानका अध्यक्ष शीतल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिभा छनोट समितिका सदस्य भुवन क्षेत्रीले गीतकार सरूको परिचय दिएका थिए । कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, गायक विनोद बानियालगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।
२०७७ सालमा दर्ता भई सञ्चालित प्रतिष्ठानले यसअघि प्रकट पगेनी ‘शिव’ र शीतल कादम्बिनीलाई गीतकार सम्मान प्रदान गरेको उपाध्यक्ष अनुराग अधिकारीले जानकारी दिए । निवर्तमान अध्यक्ष हरिहर खनियाको संयोजकत्वमा गीतकारद्वय भुवन क्षेत्री र विक्रम पौडेल सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा सरूलाई सम्मान प्रदान गरिएको उपाध्यक्ष अधिकारीले जनाए ।
यसै बिच, साधारण सभाले सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।
tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link