पोखरा,१४ कार्तिक । नेपालले स्कट्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै विश्वकप लिग-२ मा दोस्रो जित दर्ता
आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले स्कट्ल्यान्डलाई ५ विकेटले हराएको छ। अमेरिकाको ड्यालसमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कट्ल्यान्ड ४१.४ ओभरमा १५४ रनमा अलआउट भयो।
नेपालले १५५ रनको लक्ष्य २९.५ ओभरमै ५ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा आरिफ शेखले नटआउट ५१ रनको अर्धशतकीय इनिङ खेले। गुल्सन झा पनि २५ रनमा अविजित रहे। अन्य प्रमुख योगदानमा कुशल भुर्तेलले २५, आसिफ शेखले २१, र अनिल साहले १३ रन बनाए।
स्कट्ल्यान्डका बलरहरूमध्ये ब्रान्डन म्याकमुलेनले २ विकेट लिए भने ब्राड क्युरी, मार्क वाट र ज्याक जार्भिसले समान १-१ विकेट लिए।
पहिले ब्याटिङ गरेको स्कट्ल्यान्डका लागि मार्क वाटले ३४ रन बनाए, जुन सर्वाधिक स्कोर रह्यो। माइकल जोनेस र कप्तान रिची बेरिङ्टनले समान १९-१९ रन जोड्दा ब्रान्डन म्याकमुलेनले १६ र माइकल लिस्कले १४ रन बनाए।
नेपालका बलरहरूमध्ये सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। करण केसी, सोमपाल कामी र गुल्सन झाले समान २-२ विकेट लिएर स्कट्ल्यान्डलाई थोरै स्कोरमा सीमित राख्न सहयोग गरे।
यस शृङ्खलामा नेपालले अमेरिका र स्कट्ल्यान्डसँग समान २-२ खेल खेल्नेछ। आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो। अब नेपालले शनिबार अमेरिका र सोमबार स्कट्ल्यान्डसँग खेल्नेछ।
१० खेलमध्ये यो नेपालको दोस्रो जित हो, जसका साथ ५ अंकसहित नेपाल तालिकाको ७औँ स्थानमा रहेको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.