गुल्मी। नेकपा केपी ओली निकट राष्ट्रिय युवा संघ नेपाल, गुल्मीका इञ्चार्ज हिमाल थापाले नेकपा ओली समूह परित्याग गरेका छन्। पार्टी दुई समूहमा विभाजन नहुनु अघिको राष्ट्रिय युवा संघ नेपाल, गुल्मी जिल्ला संगठनको इञ्चार्ज रहेका र केन्द्रीय कमिटीको सचिवालय सदस्य समेत रहेका युवा नेता थापाले शुक्रबारदेखि ओली समूह परित्याग गरी प्रचण्ड नेपाल समूहमा सक्रिय राजनीति गर्ने घोषणा गरेका हुन्।
गुल्मीकै छत्रकोट गाउँपालिका वडा नम्वर २ पल्लीकोट घर भएका नेता थापा २०६२/०६३ को आन्दोलनदेखि अनवरत केपी ओली समूहका कट्टर कार्यकर्ता भएको बताउँछन्। विं.सं २०६२-०६३ सालदेखि ततकालीन नेकपा एमालेमा सक्रिय राजनीति गरेका र केपी शर्मामा ओली गुटका ‘कट्टर’ कार्यकर्ताका रुपमा चिनिँदै आएका थिए थापा।
युवा नेता थापाले भने, ‘हो म २०६२/०६३ को जनआन्दोलनमा डिएसएम (जिल्ला कमिटी सदस्य) भएदेखि अहिलेसम्म केपी ओलीको कट्टर कार्यकर्ता नै थिएँ। तर अहिले उहाँको तानाशाही प्रवृत्ति देखेपछि ओली समूह परित्याग गरी प्रचण्ड(नेपाल समूहमा रहेर सक्रिय राजनीति गर्ने घोषणा गरेको हुँ। ’
उनले भने, ‘साँच्ची भन्ने हो भने म जन्मेदेखि नै पूर्वएमाले थिएँ। राष्ट्रियताका एकाध मुद्दामा केपी ओलीका केही कामको म समर्थन पनि गर्छु तर उहाँको व्यवहार चाँही राजाको जस्तो पाएँ। नेता भएर उहाँ एकदमै अहंकारी, स्वेच्छाचारी र तानाशाही प्रवृत्तिको ठहराएपछि ओली समूहमा लाग्नु युवाहरुको भाग्य र भविष्य अन्धकार हुने मेरो ठहर छ।’
थापाले खासमा वामपन्थी आन्दोलनको रक्षार्थ प्रचण्ड–माधव नेपाल समूहको विकल्प नदेखेर उहाँहरुकै मुलधारमा आफू पनि अग्रमोर्चामा रहेर कम्युनिष्ट आन्दोलनको रक्षार्थ प्रवेश गरेको बताएका छन्। प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु प्रतिगमन रहेको र नेपाली जनताको भाग्य एवं भविष्यसँग खेलवाड गरेको उनले आरोप लगाए।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.