पोखरा,१९ कार्तिक। गण्डकी प्रदेश, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण क्षेत्र हो। यहाँ दर्जनौँ ऐतिहासिक, धार्मिक र साहसिक पर्यटकीय गन्तव्यहरू छन्।
पर्वत जिल्लाका गन्तब्य
पर्वत जिल्लाका जलजला, हम्पाल, कालान्जर पर्वत, पञ्चासे, गुत्तेश्वर गुफा, सेतीवेणी जस्ता ठाउँहरू प्रसिद्ध छन्। अग्ला झोलुङ्गे पुल र निजी क्षेत्रद्वारा सञ्चालित बञ्जी जम्प जस्ता साहसिक गतिविधिले पर्वतको पर्यटनमा थप टेवा पुगेको छ।
स्याङ्जा जिल्लाका गन्तब्य
स्याङ्जामा सिरुबारी, कालभैरव मन्दिर, आलमदेवी, छायाँ क्षेत्र, शाल्मेडाँडा जस्ता पर्यटकीय गाउँहरू छन्। यसबाहेक राम्दीघाट र मिर्मी जस्ता ठाउँहरू पनि पर्यटकहरूको रोजाइमा पर्छन्।
लमजुङ जिल्लाका गन्तब्य
ऐतिहासिक लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, भुजुङ गाउँ, काउलेपानी जस्ता ठाउँहरू लमजुङका प्रमुख पर्यटकीय गन्तव्य हुन्।

गोरखा जिल्लाका गन्तब्य
ऐतिहासिक गोरखा दरबार, गोरखा सङ्ग्रहालय, मनकामना मन्दिर, मनास्लु हिमाल र मनास्लु संरक्षण क्षेत्र जस्ता ठाउँहरूले गोरखाको पर्यटनमा महत्वपूर्ण योगदान पुर्याएका छन्।

तनहुँ जिल्लाका गन्तब्य
तनहुँमा व्यास क्षेत्र, तनहुँसुर दरबार, देवघाटधाम, बन्दीपुर र ढोरबराही जस्ता धार्मिक तथा पर्यटकीयस्थलहरू रहेका छन्।

नवलपुर जिल्लाका गन्तब्य
मौलाकालिका मन्दिर, त्रिवेणी गजेन्द्र मोक्षधाम र देवचुली जस्ता ठाउँहरू नवलपुरका प्रमुख आकर्षण हुन्।

कास्की जिल्लाका गन्तब्य
कास्कीमा फेवाताल, बेगनासताल, रुपाताललगायत विश्व रामसार सूचीमा सूचीकृत नौ ताल छन् । पोखरा आउने पर्यटक तालतलैया, हरिया डाँडाकाँडा र हिमाल देखेर लोभिन्छन् । हिमशृङ्खला, अन्नपूर्ण आधार शिविर, पातले छाँगो, विश्वशान्ति स्तुपा, महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिर आदि कास्कीका प्रमुख पर्यटकीय गन्तव्य हुन् । घान्द्रुक, धम्पुस, सिक्लेस, ल्वाङलगायतका पर्यटकीय गाउँ लोभलाग्दा छन् । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमै, कोरी आदि क्षेत्र पदयात्राका लागि प्रसिद्ध मानिन्छन्।

बागलुङ जिल्लाका गन्तब्य
बागलुङका प्रमुख पर्यटकीय गन्तव्यहरूमा कालिका भगवती मन्दिर, ढोरपाटन सिकार आरक्ष, विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट, शालिग्राम संग्रहालय, घुम्टेको लेक, गलकोट दरबार, गाईघाट झरना, भैरवस्थान मन्दिर, भकुण्डे, र गाजाको दहलगायतका स्थानहरू पर्दछन्। ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष भएको क्षेत्र हो, जहाँ वर्षमा दुई पटक वन्यजन्तुको वैधानिक सिकार गर्न पाइन्छ। साहसिक सिकार अनुभवको खोजीमा विदेशी सिकारीहरू ढोरपाटन पुग्ने गर्छन्। ढोरपाटन उपत्यका, बुकी, र भुटानी शरणार्थी बस्तीजस्ता स्थलहरूले पनि यस क्षेत्रको आकर्षण बढाएका छन्।
मनाङ जिल्लाका गन्तब्य
मनाङमा तिलिचो ताल, अन्नपूर्ण पदमार्गजस्ता प्राकृतिक सम्पदाहरू, हिमाली जनजीवन र संस्कृतिका कारण पर्यटकहरूको रोजाइमा पर्छ। पर्यटकहरू मनाङ हुँदै थोरङ भञ्ज्याङ पार गरेर मुस्ताङ पुग्ने गरेका छन्।

मुस्ताङ जिल्लाका गन्तब्य
मुस्ताङका प्रसिद्ध गन्तव्यहरूमा मुक्तिनाथ, दामोदर कुण्ड, लोमान्थाङ दरबार, कोरला नाका, पुराना गुफाहरू, कलाकृतिहरू, ढुम्बा ताल, र कागबेनी समावेश छन्। मुक्तिनाथ विश्वभरका हिन्दु धर्मावलम्बीहरूबीच प्रसिद्ध तीर्थस्थल हो। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मुस्ताङ पदयात्राका लागि पनि एक उत्कृष्ट गन्तव्य मानिन्छ।

म्याग्दी जिल्लाका गन्तब्य
म्याग्दी पनि प्राकृतिक पर्यटनको हिसाबले अगाडि छ। यहाँका प्रमुख पर्यटकीय गन्तव्यहरूमा धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, पुनहिल, घोरेपानी, रुप्से झरना, अन्ध गल्छी, खोप्रा लेक, र गलेश्वरधाम पर्छन्। पर्वतमा जलजला, हम्पाल, कालान्जर पर्वत, पञ्चासे, गुत्तेश्वर गुफा, र सेतीवेणीजस्ता स्थानहरू पर्यटकीय आकर्षणका केन्द्रहरू हुन्। अग्ला र लामो झोलुङ्गे पुलहरूले पर्वतलाई अझ विशेष बनाएका छन् भने निजी क्षेत्रको लगानीमा सञ्चालित बञ्जी जम्पजस्ता साहसिक पर्यटन गतिविधिले पनि यस क्षेत्रको आकर्षण बढाएको छ।

गण्डकी प्रदेशलाई पर्यटकीय राजधानी घोषणा
प्रदेश सरकारले पाँच वर्षअघि प्रदेशका ११ वटै जिल्लाका दस/दस गरी एक सय १० गन्तव्य पहिचान गरी सूचीकृत गरेको थियो। गत वर्ष चैतमा गण्डकी प्रदेशलाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो।