हजारौँ सहिद ,बेपत्ता,घाइतेहरुले बाबुरामजी र मलाई अलग हुन दिँदैनन्: प्रचण्ड

हजारौँ सहिद ,बेपत्ता,घाइतेहरुले बाबुरामजी र मलाई अलग हुन दिँदैनन्: प्रचण्ड

  • शनिबार, फाल्गुन १ २०७७

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. बाबुराम भट्टराईसँग एउटै पार्टीमा नरहे पनि राजनीतिक मुद्दा र एजेण्डामा आफूहरू एकै ठाउँमा रहेको बताएका छन्। शनिबार समाजवादी पार्टीका संघीय अध्यक्ष डा. भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने, ‘अहिले बाबुरामजी र म एउटै पार्टीमा त छैनौं। तर, मुद्दा र एजेण्डाको हिसाबले हामी फेरि एउटै मोर्चामा छौं।’ इतिहासको आफ्नो कर्मको कारणले आफूहरुलाई अलग हुन नदिने प्रचण्डले टिप्पणी गरे। इतिहासको कर्मको कारणले दुबै जना अलग हुन खोजे पनि चुम्बकले तानेजस्तो नजिक ल्याएको उनले बताए।

उनले भने, ‘इतिहासको आफ्नो कर्मको कारणले हामी अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो हाम्रा आफ्ना कर्मले हामीलाई नजिक ल्याइ नै राख्छ। हामीलाई अलग हुन दिँदैन। ती हजारौँ सहिदले हामीलाई अलग हुन दिँदैनन्। हजारौँ घाइते र अपांगले हामीलाई अलग हुन दिन्नन्। ती हजारौँ बेपत्ता हाम्रा योद्धाहरुले पनि हामीलाई अलग हुन दिन्नन्।’

डा. बाबुराम भट्टराईको बौद्धिक र भावनात्मक क्षमताबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रचण्डले जिउँदा मानिसका लागि चिहानबाट कंकाल मानिसलाई निकालेर ल्याउनेसमेत बताए। उनले भने, ‘सामाजिक क्रान्तिका निम्ति शहीद हुन्छन् त्यसलाई राज्यले अवहेलना गर्छ। दमन गर्छ। तर बाँकी मानिसले कंकाल मानिसलाई निकालेर जिउँदा मानिसका लागि ल्याउने छौं।’

थुप्रै चिहानको उत्खनन् गरिनेसमेत उनले बताए। उनले भने, ‘थुप्रै चिहानको उत्खनन् गरेका छौं। फेरि पनि गर्ने छौं।’ संविधान पूर्ण नभएको उल्लेख गर्दै यसको दुईपटक संशोधन भइसकेको प्रचण्डको भनाई थियो। यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानको मुल मर्ममाथि प्रहार गरेको आरोप लगाए।

‘संविधान हाम्रो पूर्ण छैन। हामीले जस्तो सोचेका थियौ। तर समावशी लोकतन्त्रको राम्रो प्रस्तुति छ। यो संविधानलाई संसोधन गर्नु पर्छ भनेर दुइपटक भइपनि सकेको छ,’ उनले भने, ‘तर अहिले संविधानको मूल मर्माथि प्रहार भएको छ।’ आजको दिन संविधानको रक्षाको लागि संकल्प गर्ने दिन पनि भएको प्रचण्डको भनाई थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.