मुग्लिन–पोखरा सडकको ६३ किमि कालोपत्रे सम्पन्न, मादी नदी पुल निर्माण ४५% पूरा

मुग्लिन–पोखरा सडकको ६३ किमि कालोपत्रे सम्पन्न, मादी नदी पुल निर्माण ४५% पूरा

तनहुँ, २३ कार्तिक। मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । आयोजनाले २० किमि चार लेन र ५ किमि दुई लेनको सडकमा कालोपत्रे गरेको जनाएको छ ।
आयोजनाका पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार, हालसम्म ६८ प्रतिशत भौतिक प्रगति भएको छ । उनका अनुसार, तिहारको बिदामा समेत काम निरन्तर सञ्चालन भएको र अब निर्माणले झनै गति लिनेछ ।
मादी नदी पुल निर्माण ४५% पूरा
यसैगरी, तनहुँको व्यास नगरपालिका–४ को दमौली बजार र व्यास–५ को चापाघाट जोड्ने मादी नदी पुलको निर्माण ४५ प्रतिशत पूरा भएको छ । तीन सय १५ मिटर लामो यो पुल ‘आर्क डिजाइन’ को चार लेनको हुनेछ । आयोजनाका अनुसार, पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पुलको डिजाइन गरिएको छ ।
ठेकेदार कम्पनीका साइट इन्चार्ज दिनेश श्रेष्ठका अनुसार, पुलको सातवटा ‘फाउन्डेसन’ निर्माण गरिसकिएको छ र हाल पानीमाथि ‘सुपर स्ट्रक्चर’ निर्माण भइरहेको छ । यस पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको छ ।
नेपालकै पहिलो चार लेनको पुल
इन्जिनियर पाण्डेका अनुसार, यो पुल नेपालकै पहिलो चार लेनको पुल हो र यसको निर्माण तीन वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । निर्माणाधीन यही पुल नजिक दुई लेनको तीन सय ७० मिटर लामो पुलबाट हाल सवारी साधनहरू आवतजावत गरिरहेका छन् ।
मुग्लिन–पोखरा सडक विस्तार
कूल ८१ किलोमिटर लम्बाइको मुग्लिन–पोखरा सडक विस्तार विसं २०७८ वैशाखदेखि सुरु भएको हो । हाल यो राजमार्ग दुई लेनको छ । पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरी विस्तार सुरु गरिएको सडकको पूर्वी खण्ड (मुग्लिन–जामुने)को लम्बाइ ४१.४५ किलोमिटर र पश्चिम खण्ड (जामुने–पोखरा)को लम्बाइ ३९.५५ किलोमिटर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.