पोखरा, पुस १३ गते। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)मा विवादित बनेको उमेर हदको विषयमा आज सम्पन्न कास्की जिल्लाको मतदानमा उमेर हद ३२ वर्ष कायम गर्ने पक्ष विजयी भएको छ।
कुल १०८ मतदाता रहेकोमा ६८ मत खसेकोमा ५६ मत उमेर हद ३२ वर्ष कायम गर्नुपर्ने पक्षमा परेको छ भने १२ मत उमेर हद नहुनुपर्ने पक्षमा परेको छ। उक्त निर्वाचनमा कुनै पनि मत बदर भएको छैन।
अखिल क्रान्तिकारी केन्द्रीय समितिले यस निर्वाचनमा आफूलाई मतदान अधिकृतको जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै मतदान अधिकृत निर्मला क्रान्तीले नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका उपाध्यक्ष ज्ञामनाथ गैरे, जिल्ला समन्वय समिति कास्कीका संयोजक विश्वप्रकास लमिछाने र सचिव बिनय थापा निर्वाचन समितिमा रहेर अहोरात्र खटिएका निर्वाचन समिति सदस्यहरु विपिन आचार्य र अमरदिप पराजुलि लगायत निर्वाचन स्वयम्सेवकहरू र अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष सुमन सुवेदी सहित सम्पूर्ण मतदाता विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गरेकी छन्।
उमेर हदको विषयमा अखिल क्रान्तिकारीमा केन्द्रीय तहमा नै मतभेद रहेको थियो। केन्द्रीय समितिले यस विषयमा देशभरका इकाईहरूमा मतदान गराउने निर्णय गरेको थियो।सोही निर्णयलाई कार्यान्वयन गर्न देशभर नै बिहान १० बजेबाट ४ बजे सम्म निर्वाचन भएको थियो।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.