Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

वामदेव गौतमको राजनीतिक एकता यात्रा: पुनः अन्योलमा

loading views..

पोखरा,पुस २६ गते। नेकपा एकता अभियानका संयोजक वामदेव गौतमको राजनीतिक एकता प्रयास पुनः अन्योलमा परेको छ। एक हप्ता अघिसम्म नेकपा (एकीकृत समाजवादी) सँग एकता नजिक पुगेको जस्तो देखिए पनि, हाल उनले एकताको विषयमा अनभिज्ञता प्रकट गर्दै कुन पार्टीसँग मिल्ने भन्ने निर्णय बाँकी रहेको बताएका छन्।

गौतमले यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रकाश ज्वाला, र महासचिव घनश्याम भुसालसँग एकताको मोडालिटी तयार पार्न आग्रह गरेका थिए। तर, हालसम्म निर्णय हुन नसकेको उल्लेख गर्दै उनले पर्सि बिहान बैठक बसेर मात्र ठोस निर्णय लिने जानकारी दिए।

गौतमले नेकपा (एमाले)सँग पनि वार्ता भइरहेको बताएका छन्। ‘मैले व्यक्तिगत रूपमा वार्ता गरेको छैन, तर अन्य नेताहरूले एमालेका नेताहरूसँग संवाद गरिरहेका छन्,’ उनले भने। एमालेमा जाने वा एकीकृत समाजवादीसँग मिल्ने विषयमा आफू “कन्फ्युजन” मा रहेको गौतमले स्वीकार गरे।

यसअघि गौतमले एमालेमा फर्किने प्रयास गरेका थिए। उनले सार्वजनिक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पक्षमा लिन आग्रह गरे पनि ओलीले सहमति जनाउन नसकेपछि गौतमले एकीकृत समाजवादीसँग वार्ता अगाडि बढाएका थिए। तर, हाल पुनः अनिर्णयको अवस्थामा पुगेका छन्।

एमालेले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमार्फत राष्ट्रिय शक्ति निर्माणको आवश्यकता औँल्याउँदै बाहिर रहेका नेताहरुलाई पार्टीमा फर्कन आह्वान गरेको छ। यस निर्णयले गौतमलाई एमालेप्रति पुनः आकर्षित गरेको हुन सक्ने अनुमान गरिएको छ।

गौतमको आगामी निर्णयले नेपालका वामपन्थी दलहरूबीचको समीकरणमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ। अब पर्सिको बैठकले मात्र उनको राजनीतिक यात्राको आगामी दिशा तय गर्नेछ।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्