कर्णाली सरकार संकटमा: कांग्रेसले सरकार छाड्ने दियो चेतावनी

कर्णाली सरकार संकटमा: कांग्रेसले सरकार छाड्ने दियो चेतावनी

आफुलाई एमालेले वाइडबडी काण्डमा जबरजस्ती बदनाम गर्‍यो

सुर्खेत, माघ ७ गते। कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धनभित्रको तनावले राजनीतिक संकट निम्त्याएको छ। नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारलाई कडा चेतावनी दिएका छन्। प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढालाई तत्काल बर्खास्त नगरे कांग्रेसले सरकार छाड्ने घोषणा गरे।

नेता शाहीले मन्त्री बुढाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भने, “हाम्रो पार्टीका नेताहरूको फोन समेत नउठाउने मन्त्रीलाई बर्खास्त नगर्ने हो भने हामी सरकारमा बस्दैनौं। यो सरकार निरन्तर रहने हो भने यसको स्थायित्व सुनिश्चित गर्न जरुरी छ।”

शाहीले गठबन्धनप्रति असन्तोष व्यक्त गर्दै मुख्यमन्त्री यामलाल कँडेलमाथि पनि प्रश्न उठाए। उनले पहिले कांग्रेस–माओवादी गठबन्धनलाई “अपवित्र” भन्ने मुख्यमन्त्री अहिले एमालेसँग मिलेर सरकार सञ्चालन गर्दा “पवित्र” कसरी भयो भन्ने प्रश्न गरेका छन्।

गठबन्धन संकटको संकेत
नेता शाहीले प्रदेश सरकारमा कांग्रेसको सहभागिता प्रभावहीन भएको टिप्पणी गर्दै सरकारभित्र निर्णय प्रक्रियामा पार्टीको अस्तित्व कमजोर भएको बताए। “हाम्रो निर्णय गर्ने अधिकार छैन। सबै माथिल्लो तहका नेताहरूको निर्देशन मान्नुपर्ने बाध्यता छ। यस्तो अवस्थामा संघीयता कसरी सफल हुन्छ?” उनले भने।

उनले सभामुख र सचिवालयको भूमिकामाथि पनि प्रश्न उठाउँदै संसद् प्रभावहीन बनेको आरोप लगाए। “सभामुख र उपसभामुखबीच संवाद छैन। सचिवालयका अधिकारीहरूबीच सहकार्य छैन। यस्तो अवस्थामा संसद् कसरी चल्छ?” शाहीले प्रश्न गरे।

आठ बुँदे सहमति कार्यान्वयनको माग
नेता शाहीले कांग्रेसले पहिला सम्झौता गरेको आठ बुँदे सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरे। उनले सरकारका कामकारबाहीप्रति असन्तोष जनाउँदै विगतमा आफूलाई वाइडबडी काण्डमा जबरजस्ती बदनाम गराएको पनि स्मरण गराए।

राजनीतिक समीकरणमा फेरबदलको सम्भावना
कांग्रेसको चेतावनीले कर्णाली प्रदेश सरकारको स्थायित्व संकटमा परेको छ। यदि कांग्रेसले समर्थन फिर्ता लिने हो भने सरकार ढल्ने निश्चितजस्तै देखिन्छ। अबको समय सत्ता गठबन्धनका लागि चुनौतीपूर्ण बन्ने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.