धनबहादुर तामाङ/गोरखा, सिरानचोक, फागुन ११ गते।हर्मी साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। सिरानचोक गाउँपालिका वडा नं. ३ स्थित विज्ञान प्राथमिक विद्यालयको प्राङ्गणमा आयोजित यो सभा संस्थाको वार्षिक प्रगति र भावी योजनाहरू प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर बनेको छ।
साना किसान सहकारीको कार्यक्षेत्र विस्तृत: वडा अध्यक्ष ढकाल
कार्यक्रमका प्रमुख अतिथि सिरानचोक गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जगदीश्वर ढकालले साना किसान सहकारीको कार्यक्षेत्र निकै फराकिलो रहेको बताए। उनले भने, “साना किसान सहकारी संस्था सरकारसँग समन्वयात्मक भूमिकामा अगाडि बढ्नुपर्ने संस्था हो। यदि सरकारी तवरबाट कुनै समस्या छ भने खुलस्त भन्नुहोस्, हामी सहकार्य गरेर अगाडि बढ्न वडा कार्यालय तयार छौँ।”
उनले साना किसान कृषि सहकारीमार्फत सरकारको उपस्थिति ग्रामीण क्षेत्रमा देखाउनुपर्ने जोड दिँदै थपे, “मासिक रूपमा पैसा उठाउने र ब्याजमा लगानी गर्नु मात्र यस संस्थाको काम होइन, जनतामा आर्थिक परिवर्तन ल्याउनु नै यसको प्रमुख उद्देश्य हो।” साना किसान कृषि सहकारी भएको नाताले कृषि क्षेत्रमा थप योगदान पुर्याउनुपर्ने उनको जिकिर थियो।
सहकारीको ऐतिहासिक महत्त्व र बहुआयामिक भूमिका: रेग्मी
सभाका विशेष अतिथि साना किसान वित्तीय सहकारी पोखराका प्रमुख पदमराज रेग्मीले साना किसान कृषि सहकारीको ऐतिहासिक पृष्ठभूमि र यसको बहुआयामिक भूमिकाबारे प्रकाश पारे। उनले भने, “यो सहकारी देशमा सङ्घीयता लागू हुनुभन्दा पहिलेदेखि नै स्थापना भएको संस्था हो। यसले कृषि, पशुपालन, पशु बीमा, जीवन बीमा लगायतका धेरै क्षेत्रमा काम गरिरहेको छ।”
रेग्मीले ग्रामीण भेगमा सरकारको उपस्थिति सहकारीमार्फत नै हुने गरेको उल्लेख गर्दै सेयर सदस्यहरूलाई वर्षको एक दिन साधारण सभामा अनिवार्य उपस्थित हुन आग्रह गरे। उनले थपे, “यो सभा सबै सदस्यहरूको सहभागिताले मात्र पूर्णता पाउँछ।”
शुभकामना मन्तव्य र प्रतिवेदन पारित
कार्यक्रम संस्थाका अध्यक्ष अमृतबाबु सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो। सभामा बुद्धिजीवी जीवनज्योति ढकाल र महेन्द्र लीला माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीले शुभकामना मन्तव्य राखेका थिए।
सभामा अध्यक्ष सापकोटा र व्यवस्थापकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन उपस्थित सेयर सदस्यहरूले सर्वसम्मतिबाट पारित गरेका छन्। प्रतिवेदनमा संस्थाको आर्थिक प्रगति, गतिविधि र आगामी योजनाहरू समेटिएको थियो।
सहकारीको भूमिकाप्रति आशा
सिरानचोक गाउँपालिकाको ग्रामीण क्षेत्रमा साना किसानको आर्थिक उन्नति र कृषि विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापित यो सहकारीले आफ्नो पाँचौँ वर्ष पूरा गरेको छ। स्थानीय नेतृत्व र सहभागीहरूले सहकारीले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्ने अपेक्षा व्यक्त गरेका छन्। सभाले सहकारीको भावी दिशा र कार्ययोजनालाई थप स्पष्ट पार्ने विश्वास लिइएको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.