कानेपोखरी (मोरङ), १३ फागुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रतिको जनताको बढ्दो आकर्षणले पूर्वी नेपालबाट रातो सूर्य उदाइरहेको बताउँदै यसले देशभर ऊर्जा प्रदान गर्ने धारणा व्यक्त गर्नुभएको छ। जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारी सभा तथा दोस्रो गाउँ सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो विचार राख्नुभएको हो।
कार्यक्रममा अध्यक्ष प्रचण्डले पछिल्लो समय पूर्वी नेपालमा माओवादी र यसका एजेन्डाप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो। “पूर्वमा रातो सूर्य उदाएको छ भन्ने उक्ति अहिले व्यवहारमा प्रमाणित भएको छ,” उहाँले भन्नुभयो, “पछिल्लो स्थानीय तहको उपनिर्वाचनदेखि नै यो स्पष्ट भएको छ र २०८४ को निर्वाचनसम्म आइपुग्दा यसको प्रभाव देशव्यापी रूपमा देखिनेछ।”
उहाँले आफ्नो पार्टीले विगतमा वर्ग र समुदायसँग दूरी बढाएको महसुस गरेपछि फेरि आफ्नो आधारभूत वर्ग र समुदायमा फर्कने निर्णय गरेको बताउनुभयो। “यो निर्णयले जनतामा नयाँ उत्साह र ऊर्जा ल्याएको छ,” प्रचण्डले भन्नुभयो। जनयुद्धले उत्पीडित समुदायमा ऐतिहासिक जागरण ल्याएको र २०६४ को निर्वाचनमा जनताले माओवादीलाई ठूलो विश्वास गरेको भए पनि पार्टीले आफ्ना एजेन्डा र जिम्मेवारी सम्हाल्न नसक्दा समुदायमा आशंका पैदा भएको उहाँले स्वीकार गर्नुभयो। “गम्भीर आत्मसमीक्षापछि हामी फेरि आफ्नै वर्ग र समुदायमा फर्केका छौं,” उहाँले थप्नुभयो।
अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा जनताले चाहेजति अधिकार पूर्ण रूपमा सुनिश्चित नभएको र कांग्रेस र एमाले जस्ता दलहरूले संविधान कार्यान्वयन गर्न नचाहेको आरोप लगाउनुभयो। “संविधानमा जता हेरे पनि माओवादीकै एजेन्डा देखिन्छ, तर ती दलहरूले त्यसलाई लागू गर्न चाहँदैनन्,” उहाँले भन्नुभयो। जनताले प्राप्त गरेको अधिकारको रक्षा गर्न, सबै जातजाति, भाषा र संस्कृतिको संरक्षण गर्न र समुदायको पहिचान स्थापित गर्न अब माओवादीले नेतृत्व लिने र उत्पीडित समुदायले साथ दिनुपर्ने उहाँको आह्वान थियो।
“उत्पीडित समुदायको अधिकार खोस्नु भनेको इतिहासको चक्कालाई उल्टो दिशामा घुमाउनु हो,” प्रचण्डले भन्नुभयो, “हामी यो अभियान लिएर उत्पीडित समुदायको पक्षमा दृढतापूर्वक उभिएका छौं। नेपाल राष्ट्र र जनताको अधिकारको रक्षा माओवादीबाहेक अरू कसैले गर्न सक्दैन।” उहाँले जनतालाई साथ र सहयोगका लागि अपिल पनि गर्नुभयो।
उहाँले माओवादी जनताको बलमा स्थापित भएको र अब पनि जनताको एकताबद्ध प्रयासबाटै अगाडि बढ्ने बताउनुभयो। विगतमा कांग्रेस र एमालेसँगको गठबन्धनले माओवादी र जनताका एजेन्डालाई कमजोर बनाएको स्वीकार गर्दै प्रचण्डले आगामी निर्वाचनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। “हिजो गठबन्धन गर्दा उनीहरूलाई फाइदा भयो, हामीलाई घाटा भयो। अब त्यस्तो भूल दोहोर्याउँदैनौं,” उहाँले स्पष्ट पार्नुभयो।
कार्यक्रममा सयौंको संख्यामा एमाले परित्याग गरेर माओवादीमा प्रवेश गरेको समाचारले पनि सभालाई थप उत्साहित बनाएको थियो।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.