सरकारको ऋण २६ खर्ब ७६ अर्ब नाघ्यो!

सरकारको ऋण २६ खर्ब ७६ अर्ब नाघ्यो!

आठ महिनामा ओली सरकारले भ्यायो साँढे २ खर्ब सरकारी ऋण

पोखरा, चैत्र ७ गते । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ७६ अर्ब तीन करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार यो रकम कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६.९१ प्रतिशत हो ।
चालु आर्थिक वर्षको सुरुमा २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेको सरकारी ऋण फागुन मसान्तसम्म दुई खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँले बढेको हो । विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै ६६ अर्ब २९ करोड रुपैयाँ ऋण बढेको कार्यालयले जनाएको छ ।
हालसम्मको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५०.८३ प्रतिशत अर्थात् १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ र आन्तरिक ऋणको हिस्सा ४९.१६ प्रतिशत अर्थात् १३ खर्ब १५ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि कुल पाँच खर्ब ४७ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको थियो । जसमध्ये फागुन मसान्तसम्ममा तीन खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ ऋण प्राप्त भइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा दोस्रो चौमासिकसम्मको ऋण प्राप्ति ६१.१७ प्रतिशत बराबर हो ।
यस वर्ष तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म ८१.५६ प्रतिशत अर्थात् दुई खर्ब ६९ अर्ब १५ करोड ४२ लाख रुपैयाँ बराबरको आन्तरिक ऋण प्राप्त भइसकेको छ । फागुन मसान्तसम्मको बाह्य ऋण प्राप्ति भने ३०.१७ प्रतिशत बराबर मात्रै छ । चालु आर्थिक वर्षका लागि कुल दुई खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण लिने सरकारी लक्ष्य रहेकामा हालसम्म ६५ अर्ब ४७ करोड रुपैयाँ बराबर मात्रै प्राप्त भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक ऋणको साँवाब्याज तिर्न यस वर्ष सरकारले चार खर्ब दुई अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये फागुन मसान्तसम्म ५०.०८ प्रतिशत अर्थात् दुई खर्ब एक अर्ब ७२ करोड रुपैयाँ ऋण भुक्तानी भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.