पोखरा,चैत्र १२ गते। “उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि युवा आन्दोलन! सुशासन, समृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन!!” भन्ने मूल नाराका साथ काठमाडौंमा यही जेठ १७-१९ गते सम्पन्न हुने वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन केन्द्रित गण्डकी प्रदेश कमिटीको पूर्ण बैठक पोखरामा हिजो सम्पन्न भएको छ।
बैठकमा पार्टीका गण्डकी प्रदेश सहइन्चार्ज क. हरिराज अधिकारी ‘कुमार’ प्रमुख अतिथि र संगठनका इन्चार्ज क. रामप्रसाद सापकोटा ‘दिपशिखा’ विशिष्ट अथिति रहनुभएको थियो। बैठकमा फ्र्याक्सन इन्चार्ज दिपशिखाले केपी ओली नेतृत्व र राजावादी प्रवृत्ति एउटै भएको भन्दै युवाहरू सचेत रहन निर्देशन दिनुभएको छ।
संगठनका अध्यक्ष सुबोधराज सेर्पालीले संगठनको सदस्यता नवीकरण तथा वितरण, इकाई गठन, वडा, पालिका, जिल्ला र प्रदेश सम्मेलनलाई अनिवार्य रूपमा लागू गर्ने ठोस कार्यक्रम बनाइएको जानकारी गराउनुभयो।
बैठकमा प्रमुख अतिथिले संगठनात्मक सुदृढीकरण, सुशासन, र समाजवादी विचारधाराबारे प्रशिक्षण मन्तव्य राख्नुभएको थियो। साथै, बैठकमा संगठनका वरिष्ठ उपाध्यक्ष कसम गुरुङ, महासचिव गणेश शाही, तथा अन्य पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको प्रचारप्रसार विभाग प्रमुख नवराज ऐर ले जानकारी गराउनुभयो।